धरान : धरानमा सम्पन्न पाँचौँ राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ ।

आर्मीले रुपन्देही बास्केटबल सङ्घको टिमलाई ९१-५४ स्कोरको अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । उपाधिसँगै आर्मीले नगद १ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात पार्‍यो। उपविजेता रुपन्देहीले नगद ५० हजार रुपैयाँ सहित रनर ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

८ टिमले सहभागिता जनाएको उक्त खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र रुपन्देही बास्केटबल सङ्घको टिम फाइनलमा प्रवेश गरेको थियो ।

सुनसरीको तरहरा बास्केटबल क्लबलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेको विभागीय टिम आर्मीको टिमले धरानको इम्मोर्टललाई पराजित गरेर उपाधिको दाबेदार बनेको रुपन्देही माथि आर्मीले आज सहजै जित्न सफल भएको हो ।

धरान-१७ समाज हङकङ र टर्की नेपाली समाज अंकाराको सहयोगमा सम्पन्न उक्त पाचौं राष्ट्रिय बास्केटबल प्रतियोगिताको फाइनलको प्रत्येक क्वार्टरमा आर्मी र रुपन्देहीले १५-१०, २०-१८, २८-११ र २८-२५ स्कोर जोडेका थिए।

समापन समारोहमा फाइनलका सेन्ट जोसेफ म्यान अफ द म्याच घोषित हुँदै आर्मीका विनोद महर्जनले नगद ३ हजार रुपैयाँ हात पारे । प्रतियोगिताका मस्ट भ्यालुएवल प्लेयर हुँदै जर्सि नं ३३ का आर्मीकै रविन खत्रीले नगद १० हजार रुपैयाँ पाए । उनले १५ स्कोर जोडेका थिए ।

रुपन्देहीका निकेस मगर हाइस्कोरर घोषित हुँदै नगद ५ हजार रुपैयाँ पाए भने आयोजक क्लब होराइजनका विकास घले उदयमान खेलाडी घोषित हुँदै नगद ५ हजार रुपैयाँ पाएका थिए ।

विजेताहरूलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामा र आयोजक क्लबका अध्यक्ष वसन्त राईले नगद र ट्रफि वितरण गरेका थिए ।

Runner-up