दमक : महिला तथा युवतीलाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दमकमा दुई जना महिला पक्राउ परेका छन्। साथै प्रहरीले घटनास्थलबाट ८ जना युवती तथा महिलाको उद्धार समेत गरेका छन्।

बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा मोरङ पथरीशनिश्चरे नगरपालिका-३ निवासी ३८ वर्षीय उर्मिला नेम्बाङ र इलाम चुलाचुली गाउँपालिका ४ बस्ने ३८ वर्षीय बन्ठि भन्ने नन्दिता साँवा लिम्बुलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

दमक नगरपालिका-६ स्थित नयाँ सब्जी मन्डीमा घर भाडामा लिएर महिलाद्वय नेम्बाङ र लिम्बुले युवती तथा महिलाहरूलाई बन्धक बनाएर यौन धन्दा चलाउँदै आएका थिए । सो घर नेम्बाङको हो । दमकमा यौन धन्दा चलाइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले छापा मारेर १७ देखी ३९ वर्ष उमेर समूहका ८ जना महिला तथा युवतीहरूलाई उद्धार गरेको र महिलाद्वय नेम्बाङ र लिम्बुलाई पक्राउ गरिएको डिएसपी थापाले बताए ।

पीडित महिलाहरूले प्रहरीलाई दिएको बयानमा भनेका छन्, 'हामीहरू कामको खोजीमा दमक आइपुगेका थियौ, काम दिन्छु भन्दै उहाँहरूले बन्धक बनाएर यौन शोषण गराउँदै आएका थिए।' यता प्रहरीले उद्धार गरिएका युवती तथा महिलाहरूलाई झापा जिल्ला अदालत भद्रपुरमा पेस गरी आफन्तजनलाई जिम्मा लगाइसकेका छन् । 

पक्राउ परेका महिला द्वय नेम्बाङ र लिम्बुलाई मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थपेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको डिएसपी थापाले बताए ।