धरान:  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड-१९ विरुद्धको 'कोभिसिल्ड' खोपको दोश्रो डोज लगाउन सुरु गरीएको छ ।

आइतबार प्रतिष्ठान आइपुगेको खोप हिजो मंगलबारबाट लगाउन सुरू गरीएको हो । हिजो पहिलो दिन प्रतिष्ठानका चारै पदाधिकारी सहित प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्यमा काम गर्ने कर्मचारीहरू गरी ४ सय जनामा खोप लगाइएको स्कुल अफ पब्लिक हेल्थका एसोसिएट प्रोफेसर डा. विजय खनालले जानकारी गराए ।

‘पहिलो दिन ४ सय जनामा कोभिसिल्ड खोपको दोश्रो तथा अन्तिम डोज लगाइएको छ । यसअघि पहिलो डोज लगाएको १७ सय जनालाई हामीले ३ दिन भित्र खोप लगाइसक्ने तयारी गरेका छौ।’ उनले भने, ‘अपुग भएमा र पहिलो डोज लगाउन छुटेकाहरूमा जिल्ला स्वास्थ्य कार्यालयसंग समन्वय गरी अस्पताल प्रशासनले व्यवस्था मिलाउनेछ।’

यसअघि पहिलो डोज माघ १४ गते लगाइएको थियो । नेपाल सरकारबाट दोश्रो डोजको आपुर्ती ढिला भएकाले दुई महिना पछी दोश्रो डोज लगाउन थालिएको डा. खनालले बताए । खोप लगाएपनि भाइरसको स्वरूप परिवर्तन हुन सक्ने बताउँदै उनले कोभिडबाट बच्ने स्वास्थ्य उपायहरू अपनाउनका लागी आग्रह गरेका छन।