धरान : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तत्कालीन नेकपाभित्रका शीर्षस्थ नेताहरूबिच कुर्सी र पदको भागबन्डा नमिल्दा किचलो भएको बताएका छन् ।

आदिवासी जनजाति आयोगद्वारा धरानमा आयोजित प्रदेश १ स्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘भागबन्डामा किचलो देखा गर्‍यो । नेपाललाई समृद्धि र विकासमा अघि बढाउनका लागि स्थिर सरकार, जनताले दिएको माइन्डेट अनुसार ५ वर्ष काम गर्न पायो भने २० वर्षमा देश समृद्धि र विकास सँगै नेपाली जनताले चाहेको नयाँ नेपाल बन्न सक्ने दाबी गरे ।

कुर्सी र पदमा भागबन्डा नमिलेर किचलो हुँदा देश अराजकता, अस्थिरतातर्फ धकेलिने बताए । 'सर्वोच्चको निर्णयले नेकपा एमाले र माओवादी केन्द्र पुनः स्थापना गर्‍यो । हुँदाहुँदै गठबन्धन एकतामा बाँधिएका दुई वटा दल पूर्ववत् अवस्थामा पुगे । यो सबै पद र भागबन्डा नमिलेर उत्पन्न भएको बखेडाकै कारणले यस्तो भएको हो ’ उनले भने ।

Antrakriya-3

उनले सबैको चासो प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार निरन्तर चल्छ कि चल्दैन ? कहिलेसम्म चल्ला या अर्को सरकार बन्ला ? भन्ने प्रश्नले जनतामा निराशा र द्विविधा उत्पन्न हुनु राम्रो नभएको बताए ।

उनले भने, ‘दलका शीर्षस्थ नेताहरूबिचको अनावश्यक किचलो अन्त्य गरेर यो सरकारले ५ वर्षसम्म ढुक्कले चल्न दिनुपर्छ, चल्नुपर्थ्यो । प्रदेश सरकारहरू पनि पाँचै वर्ष चल्नुपर्छ । तर बिचमा भत्काउन खोजियो । प्रदेश संरचनालाई पनि अस्थिरता र अराजकतातर्फ लान खोजियो । यसले राम्रो गरेन । यसले मुलुकको समृद्धिको यात्रालाई असर गर्‍यो।'

Antrakriya-1

स्थायी शान्ति, राजनीतिक स्थायित्व, सुशासन र विकास, समृद्धिको पक्षमा निरन्तर उभिएर जनताको बलिदानबाट प्राप्त संविधान र संघीयतालाई सही ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा पनि मुख्यमन्त्री राईले जोड दिए ।

कार्यक्रममा आयोगका सदस्य शरण राईले आयोगको गठन भएपछि पहिलो पटक प्रदेश १ मा प्रदेशस्तरीय अन्तरक्रिया गर्दै अभियान सुरु गरेको बताए । यस्तै कार्यक्रम पहिलो चरणमा सातै प्रदेशमा गर्ने लक्ष रहेको पनि उनले बताए । पूर्व प्रदेश प्रमुख डा. गोविन्द तुम्वाहाङले नेपालको संविधानले अख्तियार गरेको समानुपातिक प्रतिनिधित्वलाई अङ्गीकार गरेर मुलुक अघि बढे यहाँका सबै जाति, भाषा र धर्महरूको विकास हुने दाबी गरे ।

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले संविधानमा उल्लेख भएका समावेशी र समानुपातिक प्रतिनिधित्वका बारेका बुँदाहरूलाई कार्यान्वयन गर्न पहल गर्ने बताए । कार्यक्रममा प्रदेश सांसद निरन राई, सन्जा दनुवार लगायतले बोलेका थिए ।

आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजाति आयोगको काम, कर्तव्य र भावी योजनाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका आदिवासी जनजाति अभियानकर्मीहरूको सहभागिता रहेको थियो ।

Antrakriya-2