विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रालयका आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेका छन् ।

मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि बुधवार पत्रकार सम्मेलन गरी मन्त्रालयका सबै कार्यक्षेत्रलाई समेटेर आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेका हुन् ।

दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्ने सम्भावनालाई ध्यानमा राखी कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई पुन : सञ्चालनको तयारी गरिएको उनले बताइन् । पुन: सञ्चालनका लागि अस्पतालको निरीक्षण गरी आवश्यक निर्देशन पनि दिएको बताइन् ।

मन्त्री राईले प्रदेशमा रहेका यसअघि कोरोना उपचारमा संलग्न अस्पताललाई तयारी अवस्थामा रहन आग्रह समेत गरिन् । उनले सबै जिल्ला अस्पतालहरूलाई कम्तीमा १० बेड सम्म कोभिड आइसोलेसन वार्ड तयार गरी उपचारको व्यवस्थापनका लागि निर्देशन दिइने बताइन् ।

बुधवार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले आगामी कार्य योजना समेत सार्वजनिक गरिन् । उनले स्वास्थ्य बिमा कार्यक्रमले नसमेटेका र पैसाको अभावमा उपचार गर्न नसक्ने गरिब जनताका लागि आवश्यक कार्यविधि र मापदण्ड बनाएर लागु गरिने बताइन् ।

विद्यालय शिक्षाको गुणस्तरमा सुधार गर्न भौतिक पूर्वाधार निर्माण, विस्तार तथा जनशक्तिको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने पनि बताएकी छिन् । मन्त्री राईले महिलाको सुरक्षाको सवालमा अन्तर मन्त्रालय समन्वय गरी विशेष ध्यान दिइने बताईकोे छ ।

प्रदेश स्तरमा सञ्चालित ज्येष्ठ नागरिक लक्षित दन्त उपहार तथा आँखा उपचार कार्यक्रम सञ्चालनका लागि योजना बनाएर लागु गरिने छ । स्थानीय तह, प्रदेश सरकार र सामाजिक विकास संस्थासँगको सहकार्यमा सडक आश्रित, सहयोगापेक्षी मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिइने सामाजिक विकास मन्त्री राईले बताइन् । प्रदेश खेलकुद बोर्ड र जिल्ला खेलकुद विकास समितिहरू चाडै गठन गरिने पनि बताइन् ।

सामाजिक विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यहरूलाई आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधि आदिको तर्जुमा गर्ने र विद्यमान कानुनहरूको समयानुकूल संशोधन गरिँदै लगिने उनले बताइन् ।

मन्त्री राईले ब्यान्ड भर्सेज ब्रान्डको अवधारणा अनुसार नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने कार्यको बारेमा कानुनी र व्यवहारिक पक्षको अध्ययन गरी लागू गरिने बताइन् ।