विराटनगर : नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

चैत २३ गतेको संसद् बैठक अगावै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बताए । उनको संसदीय दलको बैठकमा समर्थन फिर्ता लिनेबारे छलफल भइरहेको बताएका छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय पछि मुख्यमन्त्री शेरधन राई विरुद्ध गत पुस १२ गते तत्कालीन नेकपा दाहाल–नेपाल समूहका ३७ जना सांसदले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि एमालेको नेपाल समूहका १६ सांसदले मङ्गलवार सामूहिक रूपमा हस्ताक्षर फिर्ता लिइसकेका छन् । मुख्यमन्त्री राई विरुद्ध हस्ताक्षर गरेका ७ जनाले यसअघि नै हस्ताक्षर फिर्ता लिएका थिए ।

नयाँ राजनीतिक परिस्थितिका कारण मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिइने माओवादी केन्द्र संसदीय दलका नेता आङ्वोले बताए । उनले भने, ‘संसद् बैठकबाटै समर्थन फिर्ता लिइने छ ।’ माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री राई नेतृत्वको सरकारलाई कुनै असर पर्ने छैन । प्रदेश सभामा एमालेको एकल बहुमत छ । एमालेको ५१ सांसद छन् ।

प्रदेश १ मा बहुमतको सरकार निर्माणका लागि ४७ जना सांसद आवश्यक पर्छ । एमाले बाहेकका दलका ४२ जना मात्रै सांसद छन् ।