इटहरी : विराटनगर महानगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा सुनसरीको धरान उपमहानगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै विराटनगर महानगरपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

विराटनगरको जितमा सुशान्त तामाङ र भुवन बस्नेतले एक¬–एक गोल गरे । धरानको तर्फबाट तपन कार्कीले एक गोल गरे । निकै नै प्रतिस्पर्धात्मक खेलको १५ औ मिनेटमा विराटनगरका सुशान्त कार्कीले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको सात मिनेट पछि खेलको २२ औ मिनेटमा धरानका तपन कार्कीले १ गोल गरी खेललाई बराबरीमा ल्याए । पहिलो हाफ एक एक गोलको बराबरी अवस्थामा सकियो ।

दोस्रो हाफको २८ औ मिनेटमा विराटनगरका भुवन बस्नेतले निर्णायक गोल गर्दै विराटनगरलाई विजयी गराए । खेलको म्यान अफ द म्याच विजयी टिम विराटनगरका रमेश राजवंशी घोषित भए । उनलाई प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगद ३ हजार सहित टफी प्रदान गरे ।

विराटनगर महानगरपालिकाले अब उपाधिका लागि शनिवार हुने फाइनलमा दमक नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । दमक यस अघि नै इनरुवा नगरपालिकालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

इटहरी स्थित क्षेत्रीय रङ्गशालामा जारी प्रतियोगिताको विजेता टिमले २ लाख नगद र उपबिजेतालाई १ लाख पुरस्कार पाउने छन् ।