धरान : नेकपा माओवादी केन्द्रका धरान उपमहानगर सचिव सुदर्शन श्रेष्ठ र दुई मजदुरमाथि संघातिक आक्रमण भएको छ ।

बिहीबार राति साढे ९ बजे तिर धरान ११ सिर्जना मार्गमा निर्माणाधीन स्वास्थ्य चौकी भवनमा काम गर्ने दुई जना मजदुर पचु उराब र आच्छे लाल उरावलाई स्थानीय युवाहरूले विना कारण कुटपिट गरेको र युवाहरूलाई सम्झाउन पुग्दा माओवादी केन्द्रका सचिव सुदर्शन श्रेष्ठ माथि पनि ती युवाहरूले अनाहकमा आक्रमण गरी कुटपिट गरेको नेकपा माओवादी केन्द्रका धरान उपमहानगर इन्चार्ज चोत्लुङले जानकारी दिए ।

घर अगाडी स्वास्थ्य चौकी भवनमा काम गर्ने मजदुरहरूलाई विना कारण कुटपिट गर्न थालेपछि सम्झाउन पुगेको सचिव श्रेष्ठको आँखाको डिलमा चोट लागेको छ भने दुई जना मजदुर पनि घाइते भएका छन् । उनीहरूको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ ।

सो घटनामा संलग्न रहेका युवाहरू मध्ये २ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ भने अरू केही युवा फरार भएका छन् । पक्राउ पर्नेमा धरान-११ का २७ वर्षीय सुजन तामाङ र २६ वर्षीय प्रदीप तामाङ रहेका छन् । बाँकी घटनामा संलग्न फरार भएका बाँकीको प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

ती युवाहरू ठेकेदारलाई धम्क्याउने र पैसा माग्ने, नदिएमा आक्रमण सम्म गर्ने गिरोह हुन सक्ने बताइएको छ । धरानका विभिन्न विकासे काममा यस्ता युवाहरूको समूहले ठाउँ ठाउँमा अवरोध गर्दै आएको नगर इन्चार्ज चोत्लुङले बताए । त्यस्ता तत्त्वहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।