धरान : चारकोशे जङ्गलबाट धरानमा ल्याइएको खानेपानीको मुख्य पाइपमा चुहावट भएर खानेपानी समस्या देखिएको भन्दै धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापन बोर्डले गए राति देखि मुख्य पाइप मर्मत सुरु गरेको छ ।

नेपाल खानेपानी संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन भएको दुई महिना बित्न लाग्दा झन् खानेपानीमा समस्या देखिन थालेको थियो । साबिक खानेपानी संस्थानको अधिकांश मेशिनरी सामाग्री लगायत पाइपहरू जीर्ण भएकै कारण धरान उपमहानगरपालिकामा खानेपानी वितरणमा समस्या हुँदै आएको बताइएको छ ।

संस्थानको विभिन्न स्थानमा पाइप फुटेर पानी चुहावट भइरहेको छ । चुहावट कै कारण रिजर्भ ट्याङ्कीमा पानी तान्न समेत समस्या भएको थियो । संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन भएपछि भने यस समस्याको समाधान गर्ने जिम्मा बोर्डको हो ।

खानेपानी व्यवस्थापन बोर्डले सार्वजनिक सूचना नै जारी गरेर चारकोशे जङ्गलमा रहेको साबिक संस्थानको मेन ट्रंकलाईन पाइपको बिहीबार रातिदेखि नै मर्मत गर्न थालिएको छ ।

खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका मेयर तिलक राई समेत गए राति मर्मत स्थलको निरीक्षण गर्न पुगेका थिए । मेयर राईले साबिक खानेपानी संस्थानको मेन पाइप लिकेज भइरहेको बताउँदै दैनिक ५ देखि ७ लाख लिटर पानी चुहावट भइरहेको बताए ।

उक्त मेन पाइपबाट चुहावट भएका कारण पम्पको क्षमतामा पनि समस्या आएको छ । ‘यो मेन ट्रंकलाईन हो, यो मर्मत गर्दा धरान नगरबासीहरुलाई कम्तीमा एक देखि दुई दिन सम्म पानीको आपूर्तिमा समेत केही वडाहरूमा समस्या हुन सक्छ । सूचना जारी गरेर मर्मत सम्भारमा लागेका छौं’ मेयर राईले भने ।

मेयर राईका अनुसार मर्मत कार्य सक्ने बित्तिकै रिजर्भ ट्याङ्कीमा लगेर पुनः नगरबासीहरुलाई आज बेलुका सम्ममा पानी वितरण गर्ने कार्य तालिका बनाइएको छ । मेयर राईले भने, ‘खानेपानी व्यवस्थापन बोर्ड र नगरपालिका पानी व्यवस्थापनमा लागिरहेको छ । केही समय लाग्न सक्छ । नगरबासीहरुलाई धैर्यता गर्न पनि आग्रह गर्दछु ।’

धरान उपमहानगरपालिकाका इन्जिनियर प्रशान्त अधिकारीले साबिक संस्थानको मेन ट्रङ्क लाइन पाइपको चुहावट भइरहेको र यसको मर्मत कार्यमा लागि परेको जानकारी दिए । ‘मेन पाइपमा लिक भएका कारण दैनिक ७ लाख लिटरको हाराहारीमा पानी खेर गइरहेको उनले बताए ।

वितरण प्रणालीलाई सहज होस् भनेर रातको समयदेखि नै काम थालिएको उनको भनाई छ । ‘दिउँसो बजार एरियामा डिस्टर्ब नहोस् भनेर हामीले राति काम गरेका हौँ, पम्पिङमा पनि समस्या भइरहेको छ, मर्मत भइसके पछि पानी वितरण प्रणालीमा सहज हुने अपेक्षा लिएका छौँ ।’

Khanepani