धरान : माओवादी केन्द्रका धरान उपमहानगर सचिव सुदर्शन श्रेष्ठ सहित मजदुरलाई आक्रमण गर्ने तीन जनालाई धरान प्रहरीले आज सार्वजनिक गरेको छ ।

बिहीबार राति साढे नौ बजे तिर सचिव श्रेष्ठको घर नजिकै धरान ११ को निर्माणाधीन स्वास्थ्य चौकी भवनमा काम गर्ने मजदुर पचूँ उराव र आच्छेलाल उरावलाई कुटपिट गर्दै गर्दा सम्झाउन पुगेका श्रेष्ठलाई पनि उच्छृङ्खल युवाहरूको समूहले सांघतिक आक्रमण गरेका थिए ।

आक्रमणमा संलग्न रहेका धरान ११ का २८ वर्षीय सुजन तामाङ, सोही स्थान बस्ने २६ वर्षीय प्रदीप तामाङ र २० वर्षीय समीर तामाङलाई पक्राउ गरी आज जिल्ला अदालतमा ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको हो ।

यसै गरी सो समूहले सचिव श्रेष्ठको बुबा ६५ वर्षीय कुलबहादुर प्रधान, दिदी ४४ वर्षीय गोमा श्रेष्ठ तथा छिमेकी ७० वर्षीय पार्वती राईलाई समेतलाई घरेलु हतियारले प्रहार गरी सख्त घाइते बनाएको प्रहरीमा उजुरी परेको छ ।

आक्रमण गर्ने समूहमा अरू पनि युवाहरूको संलग्नता रहेको प्रहरीलाई जानकारी आएको र उनीहरूको खोजी कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।