धरान : ०७७ चैत्र १६ गते होलीको दिन देश नै होलीको रङमा खुसी देखिन्थ्यो । तर, त्यही दिन इटहरी-२ शान्तिनगरका ४९ वर्षीय केशव कार्कीलाई आफ्नै छिमेकी तथा विगतका साथी समेत रहेका ५१ वर्षीय जीवनाथ रेग्मीले भाला (सुँगुरको बध गर्न प्रयोग गरिने फलामको हतियार) प्रहार गरी निर्मम हत्या गरे।

कोखामा खिया लागेको २ फिट लामो रेग्मीले प्रहार गरेको त्यो भाला कार्कीको कोखाबाट छेडिएर तन्ना समेत च्यातिएको थियो। रेग्मीलाई प्रहरीले १ घण्टापछि तरहराको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा लुकेर बसेको अवस्थामा पक्राउ गर्‍यो ।

प्रहरीको अनुसन्धानमा उनले ४ वर्ष अघि उक्त भाला खरिद गरेर राखेको र रिसिविको बदला लिन हत्या गरेको निष्कर्ष निकालेको छ ।

होलीको दिन आफ्नो परिवारसँग घरमै रहेका कार्की अचानक खाटमा रगतमा लतपतिएको अवस्थामा भेटिए । ओछ्यानमा रगतले लतपतिएका कार्की छटपटिन थालेपछि निन्द्राबाट ब्युँझिएकी श्रीमती विमलाले कहालीलाग्दो अवस्थामा श्रीमानलाई देखिन। ४८ वर्षकै उमेरमा विधवाको बनिन। हिजो सम्म बाबा बाबा भन्ने नानीहरू अब देखि टुहुरा बने ।

गाउँमा मृतक कार्की ‘बिजुवा बा’ नामले परिचित थिए । बिरामीको सहारा बनेर झारफुक गर्दै आएका कार्कीको मृत्युको खबरले पुरै गाउँ नै शोकाकुल बन्यो। बिरामीका आफन्त उनलाई घरमै लिन आउँथे पनि । धामी पेसा उनका परिवारका लागि आम्दानीको श्रोत पनि थियो । यति बेला परिवारकै आम्दानीको श्रोत हराएको छ ।

को हुन हत्यारा रेग्मी, किन गरे हत्या ?

कार्की र रेग्मी  निकै वर्ष देखीका साथी र छिमेकी हुन । मृतकको घर र हत्यारा रेग्मीको घर नजिकको दुरीमा पर्छ । ६ वर्ष देखि बोलचाल नभएकाले उनीहरू देख्दा भेट्दा तर्केर हिँड्थे । कार्कीले शान्ति जनकल्याण वन उपभोक्ता समिति अन्तर्गत ६ नम्बर प्रतिनिधिको पद ३ कार्यकाल निर्वाह गरेका थिए ।

रेग्मी तरहराको कृषि फर्मका रुख चोरी गरी बिक्री गरेको आरोपमा  वन मुद्दामा ३ पटक सजाय काटिसकेको प्रहरीले जनाएको छ ।

लकडाउनमा छुटेका रेग्मीले काठहरू खोसिनुमा कार्कीले सुराकी गरेको बुझाइ छ, कार्कीलाई मारे मात्र काठ बेचेर धनी बन्ने सपना पुरा हुने सोचले रेग्मीले हत्याको योजना बनाएको देखिन्छ ।

मृतक कार्की गाउँमा झारफुक गर्ने धामी भएकाले उनको घरमा बिरामी आउने भएकाले किनेर राखेको भाला प्रयोग गर्ने मौका पाएनन् ।

प्रहरीलाई तत्काल खबर पुगेन

भाला प्रहारबाट गम्भीर घाइते भएका कार्कीलाई शरीर भित्र छिरेको भाला तानेर ट्याम्पोमा राखेर तरहराको सामुदायिक अस्पतालमा पुराए पछि मात्र स्थानीयले प्रहरीलाई खबर दिए । अस्पतालले रिफर गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजान भनेपछि एम्बुलेन्समा हालेर अस्पताल पुर्‍याउँदा सम्म श्वास फेरेका कार्कीले केही छिन् मै प्राण त्याग गरे ।

पश्चताप् हैन आत्मसन्तुष्टि छ : हत्यारा रेग्मी

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट ६ दिनको म्याद थप पछि हिरासतमा रहेका
रेग्मीले प्रहरीलाई बयान दिँदै भने ‘ हत्या गर्ने योजना बल्ल सफल भयो, कुनै पश्चताप् नै छैन म पहिला पनि जेल बसेकै हुँ ,फेरी बस्छु । ’

हत्या गर्ने दिन अत्यधिक रक्सी खाएर मार्छु भन्दै हिँडेका थिए,४/५ दिन अघि पनि कार्कीकै घरमा खुकुरी बोकेर आएका थिए । गत वर्षको लकडाउनमा पनि मार्छु भन्दै पटक पटक घरमै जान्थे रेग्मी ।