इटहरी : विराटनगर महानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिवार सम्पन्न फाइनल खेलमा दमक नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि जितेको हो।

उपाधिसँगै विराटनगरले नगद २ लाख रुपैयाँ हात पारेको छ। उपविजेता दमक नगरपालिकाले नगद १ लाख रुपैयाँमा चित्त बुझाएको छ । विराटनगरले उपाधि जितेको खुसीयालीमा प्रतियोगिताका विशिष्ट अतिथि समेत रहेका महानगरप्रमुख भीम पराजुलीले पुरस्कार राशिमा नगद २ लाख थप गरिदिएका छन् ।

विराटनगरको जितमा भुवन बस्नेतले गरेको एक मात्र गोल निर्णय बन्यो । उनले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी विराटनगरका असीम राई घोषित भए। उनले नगद ५ हजार सहित टफी पाए । खेलको म्यान अफ द म्याच दमकका प्रवीण राई घोषित हुँदै नगद ३ हजार पाए।

विराटनगरका सनम राई उत्कृष्ट गोलकिपर, रमेश राजवंशी उत्कृष्ट डिफेन्डर, सुशान्त तामाङ उत्कृष्ट फरवार्ड, भुवन बस्नेत सर्वाधिक गोलकर्ता र पारस चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । दमकका माल्दिना आंगपुचो उत्कृष्ट मिडफिल्डर भए । उनीहरू सबैले जनही ३-३ हजार सहित टफी पाए।

विजेता तथा उपविजेता टिमलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, प्रदेश एकका प्रमुख संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, एन्फा वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वांग, मानार्थ उपाध्यक्ष किशोर राई, केन्द्रीय सदस्य दीपक राई, प्रतियोगिता संयोजक सूर्य राई लगायतले पुरस्कार वितरण गरे ।

इटहरी स्थित क्षेत्रीय रङ्गशालामा सम्पन्न प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी थिए। चैत्र १३ गते देखी सुरु भएको प्रतियोगिताको काँग्रेस महामन्त्री डाक्टर शशाङ्क कोइरालाले औपचारिक रूपमा उद्घाटन गरेका थिए।