धरान : धरान बास्केटबल सङ्घको आयोजना तथा नेपाल बास्केटबल सङ्घ र सुनसरी बास्केटबल सङ्घको सहयोगमा सम्पन्न बास्केटबल रेफ्रि क्लिनिक शुक्रवार समापन भएको छ ।

चैत्र १७ देखि २० गते सम्म सम्पन्न क्लिनिकमा धरान, इटहरी, तरहरा, मोरङ र झापावाट २७ जना प्राविधिक तथा खेलाडीहरूले सहभागिता जनाएका थिए । धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न क्लिनिकमा सहभागीहरूलाई समापनको दिन सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

उनीहरूलाई क्लिनिकका मुख्य प्रशिक्षक राजकुमार महर्जन र नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा र सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले प्रमाण पत्र वितरण गरेका थिए । मुख्य प्रशिक्षक महर्जन फिवाको मान्यता प्राप्त एक मात्र अन्तर्राष्ट्रिय बास्केटबल रेफ्रि हुन ।

कुनै पनि खेलमा व्यवस्थित खेल सञ्चालनका लागि प्राविधिक टिमको महत्त्वपूर्ण भूमिका रहने हुनाले बास्केटबल खेलमा दक्ष प्राविधिक तथा रेफ्री उत्पादन गर्ने उद्देश्यले क्लिनिकको आयोजना गरिएको बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष एवं धरान बास्केटबल सङ्घका अध्यक्ष सुरजकुमार लामाले जनाए ।

यस अघि पनि सङ्घले दक्ष प्रशिक्षक एवं प्राविधिक उत्पादनका लागि विभिन्न प्रशिक्षण कार्यक्रममा सुनसरीका प्रशिक्षक तथा प्राविधिकहरूलाई सहभागिता गराइसकेको लामाले बताए ।

क्लिनिकमा सहभागी मध्येबाट सम्भावित दक्ष प्राविधिकलाई रेफ्री लाइसेन्सको लागि बास्केटबल सङ्घलाई सिफारिस गरिने जिल्ला बास्केटबल सङ्घ सुनसरी अध्यक्ष नारायण सुवेदीले बताए ।

क्लिनिकका मुख्य प्रशिक्षक महर्जनको सल्लाह बमोजिम लाइसेन्सका लागि सिफारिस गरिने अध्यक्ष सुवेदीले जनाए । चार दिनको क्लिनिकमा सहभागीहरूलाई लिखित र प्राक्टिकल दुवै गराइएको थियो । उनीहरूलाई लिखित र प्राक्टिकल रूपमा फिटनेस परीक्षा समेत लिइएको छ ।

यसैको नतिजाको आधारमा लाइसेन्सको लागि सिफारिस गरिने सङ्घले जनाएको छ । क्लिनिकमा प्रदेश १ का बास्केटबल टिम क्याप्टेन नवीन राई सहित विभिन्न क्लबका खेलाडीहरूले समेत सहभागिता जनाएका थिए ।

समापन कार्यक्रममा धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले स्वागत मन्तव्य सँगै सहभागीहरूलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा सङ्घका कोषाध्यक्ष गौरवमान श्रेष्ठ, सङ्घका पूर्व सल्लाहकार कुन्जन श्रेष्ठ, प्रदेश १ बास्केटबल मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, कलेजका एकेडेमी डाइरेक्टर अर्जुन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।