धरान : एनआइसी एसिया बैङ्क धरानले तरकारी तथा फलफूल बजारमा डिजिटल बैङ्किङ क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राई र नेपाल राष्ट्रिय बैङ्क विराटनगरका निर्देशक सत्यचन्द्र तिमिसिल्नाको प्रमुख आतिथ्यमा एवं धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत र धरान संयुक्त बजार एकता सङ्घका अध्यक्ष राम कुमार दासको विशिष्ट आतिथ्यमा भानुचोकमा एक कार्यक्रमका बिच संयुक्त रूपमा १ सय क्युआर कोड सेवाको सुरुवात गरिएको थियो ।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै धरान तरकारी तथा फलफूल बजारमा तरकारी तथा फलफूल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैङ्कको मोबाइल बैङ्किङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने धरान उप प्रादेशिक कार्यालयका प्रमुख दिवाकर भट्टराईले जानकारी दिए ।

भट्टराईले भने 'छिटो छरितो सँगै सँगै यो डिजिटल बैङ्किङ क्युआर कोड प्रभावकारी र सुरक्षित पनि छ, बजार हिडँदा कुनै समय पैसा बोकेको हुँदैन ।'

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैङ्क खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैङ्कसम्म जानुपर्ने लगायतका थुप्रै सुविधाहरूको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आरक्षण बढ्दै गएको छ ।

ग्राहकले मोबाइल बैंकिङ्गको प्रयोग गरी क्युआर कोडबाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुन्छ । व्यवसायीहरूले बैङ्कको इमेल ठेगाना एनआइसीको वेबसाइटमा आफूले गर्ने व्यवसायको प्रकृति खुलाई क्युआर सेवा लिन इच्छुक रहेको ब्यहोरा सहितको इमेल गर्नुपर्नेछ ।