धरान : सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने सङ्घका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–१२ का जीवन खनाल र सोही स्थानका ३३ वर्षीय नेत्र प्रसाद पाठक रहेका छन् । पक्राउ परेका यी दुवै जना कोशी यातायात प्रा।ली। इटहरीका संचाक समितिका सदस्य रहेको खुल्न आएको छ ।

यही चैत्र १२ गते सुनसरीको कोशी गाउँपालिका ८ तीनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इलाम ८ तिल्केनीका मेख बहादुर राई सख्त घाइते भएकोमा उनको विराट नर्सिङ होममा चैत्र १३ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटना पश्चात् तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रा।ली। इटहरीका सञ्चालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादले सिराहा लाहान– ८ घर भई विराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बसको चालक भनी उपस्थित गराएका थिए ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनी माथि अनुसन्धान गर्ने क्रममा गुप्ताले आफू दुर्घटना भएको बसको चालक नभएको र मलाई ५० हजार रुपैयाँ दिने र सम्मानित अदालतबाट छुटकारा समेत दिलाई दिने भनी आर्थिक प्रलोभनमा पारी उपस्थित गराएको जानकारी गराएसँगै घटनाको यथार्थ पर्दाफास भएको हो ।

यसरी झुक्काएर नक्कली चालक उपस्थित गराएको पाइएपछि यातायात प्रा।ली।का सञ्चालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पीडित पक्षलाई क्रिया खर्च क्षतिपूर्ति दिलाउनु पर्ने संस्थाको जिम्मेवार कर्मचारी तथा बसका सञ्चालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरी वास्तविक चालकलाई जोगाउन खोजेको हुँदा सङ्घका प्रतिनिधिहरू र नक्कली चालक माथि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार उनीहरू माथि कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।