इटहरी : इटहरीको तिरुपति प्लाई उद्योगमा लागेको आगो २४ घण्टा पछि अहिले नियन्त्रण आएको छ ।

हिजो बिहान साढे ७ बजे देखि सुरु भएको आगलागी दिनभरि पूर्वका विभिन्न स्थानका १५ वटा दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगलागी नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीले बताए ।

इटहरी-१० विराटनगर लाइन दक्षिणमा रहेको तिरुपति प्लाइ उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगोलाई नियन्त्रणमा लिनका लागि १५ दमकल सहित नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी २४ घण्टा खटिएको डिएसपी केसीले बताए ।

प्लाई उद्योग भएकोले उद्योगको भित्री भागमा लागेको आगो नियन्त्रण गर्न निकै समस्या भएको थियो । आगलागीले प्लाई उद्योग नै पुर्णरुपमा सखाप भएको प्रहरीले बताएको छ ।

Aglagi-1 9

अहिले पनि अझै उद्योग भित्रको प्लाईहरुमा पुर्णरुपमा आगो ननिभेकोले आगो निभाउने क्रम जारी नै रहेको छ । आगलागी पुर्णरुपमा नियन्त्रणमा आउन र प्लाईमा डढेको आगो निभाउन केही समय लाग्न सक्ने भए पनि यसलाई नियन्त्रणमा आएको भन्नुपर्ने डिएसपी केसीको भनाई छ ।

आगलागीबाट उद्योगमा तयारी भएका प्लाई र प्लाईका लागि ल्याइएका उत्तिस लगायत जलेको छ । आगलागीबाट के कति क्षति भयो क्षतिको विवरण आएको छैन ।

Aglagi-2 9