धरान : धरान-१४ विजयपुरको तीन धारे भत्काइएको छ ।

धरान-३ का बासिन्दाले खानेपानी पाइपबाट लाने भन्दै तीन धारे अगाडीको भाग खनिएको छ । अगाडी तिरको मुख्य भागमा गहिरो नाला जस्तै खनिएको छ ।

तीन धारे यसरी खनिनुको कारणबारे धरान-१४ वडा कार्यालय बेखवर रहेको छ । धारा खनिएको बारे आफूलाई सोमबार मात्रै जानकारी आएको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

Tin-Dhare-3

आफूले थाहा पाउने बित्तिकै धारामा सिमेन्टेट बनाइन आँटिएको काम रोकेको बताए । आज छलफलका लागि बोलाइएको भए पनि अव के गर्ने भन्ने बारेमा निष्कर्ष ननिस्किएको वडाध्यक्ष भट्टराईले बताए ।

धरान-१४ विजयपुर क्षेत्रमा रहेका दुई धारे, तीन धारे, बम धारा, एकल धारा लगायतका थुप्रै प्राकृतिक धाराहरू छन् । यी धाराहरू मध्ये विजयपुर उक्लिने बित्तिकै भेटिने तीन धारे र दुई धारे विजयपुरका ऐतिहासिक तथा पुरानो धाराहरू हुन् ।

Tin-Dhare-2

दुई धारेमा दुई वटा धारा छ भने तीन धारेमा तीन वटा धारा भएको हुनाले नाम पनि त्यही अनुसार भएको हो । तर पछिल्लो समय खानेपानीले काकाकुल बनेको धरानका कारण थोरै भए पनि गाग्रोमा पानी भरेर पनि आफ्नो तिर्खा मेटाउँदै आएको तीन धारे सम्बन्धित निकायले वास्ता नगर्दा यसरी भत्किन पुगेको हो ।

परम्परागत ढुङ्गे धारा तीन धारे पछिल्लो समय तीन नम्बर वडावासीले खानेपानीको लागि पाइप जोडेर लानका लागि धाराको अगाडी भागमा गहिरो खनिएको छ । प्राविधिकको राय विना यसरी धारा खनिनुले त्यहाँको मूल सुक्न सक्ने सम्भावना बढेर गएको छ ।

पानीको मूल फुट्ने ठाउँमा उत्खनन गर्दा र सिमेन्टेट बनाउँदा प्राकृतिक पानी सुक्ने गरेको यस सँग विज्ञहरू बताउँछन् । यसको ज्वलन्त उदाहरण हो इलामको माईपोखरी । माईपोखरीलाई सुन्दर बनाउने भन्दै सिमेन्टेट गर्दा त्यहाँको पानीको स्रोतनै सुक्दै गएपछि पछि सिमेन्टेट गरिएको पनि भत्काइएको थियो ।

Tin-Dhare-1

त्यसैले धरान उपमहानगरपालिकाको आसपास र उपमहानगरपालिका भित्र रहेका यस्ता प्राकृतिक पानीको मुहानहरूलाई संरक्षण गर्नु पर्नेमा झन् प्राविधिकको सल्लाह विना उत्खनन गर्दा पानी सुक्ने जोखिम बढेको छ ।

यसबारेमा धरान उपमहानगरपालिका र धरान १४ वडा कार्यालय र १४ नम्बर वडावासीको ध्यान तुरुन्त जान जरुरी भएको छ ।

प्राकृतिक धारालाई प्राकृतिकरुपमै रहन र झर्न दिनुपर्छ । खानेपानीको लागि रिर्जव टङ्कीमा जम्मा गर्न दिनुहुँदैन । यदि यसो भयो भने भोलि धाराको अस्तित्व नै नष्ट हुनेछ । खानेपानी समस्यालाई धरान उपमहानगरपालिकाले समाधान गर्नुपर्छ । धरा, कुवा र पाटी पौवा जोगाएर भोलिको पुस्तालाई यस्ता कुराहरूको जानकार गराउनका लागि पनि यस्ता ठाउँ र चिजहरूको संरक्षण धरान उपमहानगरपालिकाले गर्नुपर्छ ।