धरान : ओखलढुङ्गाको मानेभञ्ज्याङ-४ धुसेनि स्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

४ जना सवार मध्ये तीन जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बोलेरोमा सवार मानेभञ्ज्याङ-४ धुसेनि बस्ने ७१ बर्षीया बिनामाया आले मगर, सोही स्थान बस्ने ५० वर्षीय टुल्कीमाया आले मगर र सोही स्थान बस्ने ५ बर्षीया बालिका डोल कुमारी आले मगर रहेका छन् ।

आज बिहान सवा ११ बजे धुसेनि तर्फ जाँदै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७ सय मिटर तल खसी दुर्घटना हुँदा गम्भीर घाइते भएका डोल कुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउसो ४ बजे मृत्यु भएको थियो भने बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ वर्षीय कमल बहादुर थापामगरलाई थप उपचारको लागी एम्बुलेन्सद्वारा काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।