धरान : प्रदेश १ मा आज भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका-२ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

बिहान ७ बजेको समयमा घोडेटारबाट भोजपुर तर्फ जाँदै गरेको को २ त ९४७९ नम्बरको ट्याक्टर अचानक आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका रामप्रसाद राई गाउँपालिका-७ का २० वर्षीय नवीन राईको घटनास्थलमा नै मृत्यु भएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यसै गरी सुनसरीको इटहरी उपमहानगरपालिका-५ मा आज बिहान करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
ललितपुर महाकाल गाउँपालिका-४ घर भई इटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान पौने १२ बजेको समयमा डिसहोमको फाइबर तार टाङ्ने क्रममा बिद्युतको तारमा छुन गई करेन्ट लागेर घाइते भएका दुलाललाई उपचारको लागी विराटनगरको नर्सिंङहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यसै गरी खोटाङको बराहपोखरी गाउँपालिका-२ बस्ने ७४ वर्षीय डम्बर कुमारी मगरको आगोले जलेर मृत्यु भएको छ ।

आज दिउँसो १ बजेको समयमा स्थानीय तरे भिर जङ्गलमा आगलागी भएको र उक्त आगलागी प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिने प्रयास भइरहेको अवस्थामा भीरको माथि बसिरहेकी बृद्धालाई एक्कासि आगोको लप्काले भेटेर शरीरमा आगो लाग्दा घाइते भएकी थिइन् ।

उनलाई तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने तयारी गर्दे गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सो घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।