धरान : सरकारले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लङ्घन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन निर्देशन गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार सूचना जारी गर्दै सङ्क्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको सूचनामा उल्लेख छ ।

यसै गरी कोरोना सङ्क्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरूलाई आग्रह गरेको छ ।

यसै गरी ठुला सहरहरूमा ५०० भन्दा बढी र साना सहरहरूमा १०० भन्दा बढी सक्रिय सङ्क्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको सूचनामा उल्लेख छ ।

Suchana-1

Suchana-2