धरान : मोरङको कटहरी गाउँपालिका-१ मा सञ्चालित जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

जहदा गाउँपालिका-४ का रतन कुमार कोइरीले सञ्चालन गर्दै आएको उक्त फर्निचर उद्योगमा चैत्र २१ गते राती चोरी भएको भन्ने जानकारी पाए लगत्तै चोरीमा संलग्न व्यक्तिहरूको खोजतलासमा खटिएको प्रहरी टोलीले ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ का २३ वर्षीय लक्ष्मी यादव, २२ वर्षीय अर्जुन मुखिया, २७ वर्षीय धर्मचन्द्र राय र २२ वर्षीय दीपेश कुमार राय रहेका छन् ।

चोरीमा संलग्न उनीहरूको साथबाट रन्दा मेशिन १ थान, हेण्डकटर १ थान, हेक्सो मेशिन १ थान, एलइडी टिभी १ थान, मोबाइल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार सहित विराटनगर-८ बाट मंगलबार दिउँसो पक्राउ परेका हुन् । उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।