धरान : इटहरी प्रहरीले विभिन्न चोरीका घटनामा संलग्न एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

झापाको दमक १२ घर भएका, हाल मोरङ केराबारी-९ मा कोठा भाडामा बस्दै आएका ३० वर्षीय बिजु मोतेलाइ विभिन्न चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

कालो ज्याकेट, रातो हेलमेट लगाएर दैनिक इटहरी चौक आसपासमा देखिने मातेलाई पक्राउ गर्न सिसी टिभी फुटेजले सहयोग गरेको प्रहरीले जनाएको छ ।

पल्सर मोटरसाइकलको नम्बर प्लेट केही सेतो जस्तो देखिन्थ्यो । कसैले झट्ट हेर्दा सरकारी नम्बर प्लेट जस्तो देखिन्छ । मानिस हेर्दा भद्र र शालीन जस्तो देखिने उनलाई कसैले चोरको शङ्का गर्न समेत सक्दैनथे ।

तर, उनी इटहरीमा योजनाबद्ध रूपमा चोरी गर्नमा तल्लीन व्यक्ति भएको प्रहरीले जनाएको छ । महिलाहरूलाई लक्षित गरेर एकान्त र अँध्यारो ठाउँमा ब्याग खोस्ने र लुटपाट गर्ने गरेको पाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न चोरीमा संलग्न रहेको आरोपमा मोतेलाई २४ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । को ८ प १२३६ नम्बरको पल्सर मोटरसाइकलमा सवार रहेर इटहरी आसपास योजनाबद्ध रूपमा चोरी गरेको आरोपमा मोतेलाइ पक्राउ गरिएको हो ।

गत पुसदेखि यी व्यक्तिको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिएको थियो । प्रहरीका अनुसार मोतेले मोटरसाइकलमा धेरै दिनदेखि ‘फलो’ गर्ने र लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ । पुस महिना यता मात्रै उनीबिरुद्ध ६ वटा उजुरी परेकोमा मोतेबिरुद्ध लागूऔषध र चोरीको आरोपमा मोरङ प्रहरीले अनुसन्धान गरी राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको केसीले बताए ।

इटहरीमा पछिल्लो समय चोरीका घटनाका उजुरी परे पनि संलग्न व्यक्तिहरू पक्राउ पर्न नसकेको र पक्राउ गर्नका लागि सिसी टिभीको फुटेज बलियो हतियार भएको डिएसपी केसीले बताए ।

चोरीमा संलग्न रहेका उनलाई जिल्ला अदालत सुनसरीबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।