धरान : नेपाल पत्रकार महासङ्घ १ नम्बर प्रदेश समितिमा प्रेस युनियन,प्रेस सेन्टर र माधव नेपाल समूहको प्रेस चौतारी नेपालको गठबन्धन विजयी भएको छ ।

प्रदेश १ मा प्रेस युनियनको गठबन्धनबाट अध्यक्षका उम्मेदवार लिलाबल्लभ घिमिरेको प्यानल नै विजयी भएको छ । प्रदेश १ को १४ जिल्लाकै मतगणना सम्पन्न भइसकेको छ । मतगणना सम्पन्न भए पनि औपचारिकरुपमा भने परिणाम घोषणा गरिएको छैन ।

गठबन्धनबाट अध्यक्ष लिलाबल्लभ घिमिरेले ७ सय ९३ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी, प्रेस मञ्च नेपालको गठबन्धनका उम्मेदवार मोहन काजी न्यौपानेले ५ सय ९७ मत पाएका छन् ।

यस्तै, घिमिरेको प्यानलबाट उपाध्यक्षमा लवदेव ढुङ्गानाले ८ सय १० मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ओली समूहको प्रेस चौतारी नेपाल र प्रेस मञ्च नेपालको गठबन्धनबाट रोहित राईले ५ सय ९७ मत पाएका छन् ।

यसै गरी महिला उपाध्यक्षमा हेमा चेम्जोङले ८ सय ३६ मत ल्याएर विजयी भएका छन् । महासचिवमा विवेक गौतमले ८ सय १९ मत प्राप्त गरेर विजयी भएका छन् । सचिवमा देवेन्द्र कार्कीले ८ सय ६२ मत ल्याएर विजयी भएका छन् । समावेशी सचिवमा सन्तोष यादवले ७ सय ६१ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा विमल लामिछाने बद्रीले ८ सय ६ मत ल्याएर विजयी भएका छन् ।

यस्तै, खुल्ला सदस्यहरूमा पनि घिमिरेकै प्यानलका गोपाल पोख्रेल, तोयानाथ भट्टराई ध्रुव भट्टराई, लीलाराज झापाली र सुरेन्द्र भण्डारी विजयी भएका छन् भने महिला सदस्यहरूमा बिनु तिम्सिना, माला पालुंवा र सुशीला पाठक विजयी भएका छन् ।

दलित सदस्यमा पिवी दियाली विजयी भएका छन् । जनजाति सदस्यतर्फ विष्णु सुब्बा र यमनकुमार दनुवार निर्वाचित भएका छन् । मधेसी सदस्यतर्फ प्रमोद कुमार यादव र ब्रह्मदेव यादव विजयी भएका छन् भने अल्पसङ्ख्यक सदस्यतर्फ लीलाबहादुर सुनुवार विजयी भएका छन् ।

प्रदेश १ का १४ जिल्लामा महासङ्घका १ हजार ६ सय १५ मतदाता रहेकोमा बुधवार सम्पन्न भएको मतदानमा १ हजार ४ सय ८७ मत मात्रै खसेको थियो ।

प्रदेश १ का अधिकांश जिल्लाहरूमा पनि प्रेस युनियन,प्रेस सेन्टर र माधव नेपाल समूहको प्रेस चौतारी नेपालको गठबन्धनकै विजयी भएका छन् भने केन्द्रीय समितिमा पनि यही गठबन्धनको बढी मत खसेको छ ।

Natija-Final