धरान : नेपाल पत्रकार महासङ्घ सुनसरीमा प्रेस युनियन, प्रेस सङ्गठन र माधव नेपाल समूहको प्रेस चौतारी गठबन्धनबाट जनकऋषी राईको प्यानल विजयी भएको छ ।

बुधवार सम्पन्न निर्वाचनको गए राति अबेर आएको मत परिणाम अनुसार चार जना अध्यक्ष उम्मेदवारका प्रत्याशीहरूमा प्रेस चौतारी (ओली समूह) का तर्फबाट अध्यक्षका उम्मेदवार सन्तोष काफ्लेले ६५ मत, गठबन्धनका दुई बागी उम्मेदवार सचिन पोखरेलले ४५ , अर्का सुविद गुरागाईँले १० मत प्राप्त गरेका थिए भने जनकऋषी राईले १२३ मत प्राप्त गरेर विजयी भएका छन् ।

यसै गरी उपाध्यक्षमा गठबन्धनकै गणेश निरौलाले १४२ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी ओली समूहको गठबन्धनका सुमन पुरीले ९८ मत मात्रै प्राप्त गरेका थिए ।

उपाध्यक्ष महिलामा गठबन्धनकै उषाकिरण भट्टराईले १ सय मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ओली समूहका सुमित्रा राई सन्जुले ४५, बागी उम्मेदवार रञ्जना पौडेलले ४३ र स्वतन्त्र उम्मेदवार मनिता चाम्लिङले ५३ मत प्राप्त गरेका छन् ।

सचिवमा गठबन्धनका ध्रुव ढकालले १४८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ओली समूहका दिनेश गजमेरले ६४, अर्का भरतराज शर्मा गोपाल कामतले ३१ मत प्राप्त गरेका छन् ।

सह-सचिवमा गठबन्धनकै तीर्थ कार्की र ओली समूहको गठबन्धनका विकल रेग्मीले बराबर ११५ मत प्राप्त गरेका छन् । उनीहरू दुवैलाई सहमति अनुसार कार्कीले २ वर्ष र रेग्मीले १ वर्ष कार्यभार सम्हाल्ने गरी मिलाइएको निर्वाचन अधिकारीले बताएका छन् ।

समावेशी सचिवमा गठबन्धनकै भोला श्रेष्ठले १४२ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ओली समूहका प्रदीप कुमार चौधरीले ८९ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा ३ जना उम्मेदवारको उम्मेदवारी परेको थियो । कोषाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार अजित कुमार झाले १३१ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी ओली समूहका कृष्ण प्रसाद (बहाव) भट्टराईले ६४ र बागी उम्मेदवार निशान प्रकृति थारुले ४४ मत प्राप्त गरेका छन् ।

खुल्ला तथा समानुपातिक तर्फको सदस्यहरूमा पनि गठबन्धनकै सबै उम्मेदवार विजयी भएका छन् । विवेक रेग्मी, निश्चल शर्मा, आरबी कटुवाल, वीरेन्द्र शाह, सङ्गम विष्ट, शान्ता निरौला, दीपेन्द्र यादव, सुस्मिता राई र सुक्रान्त राई विजयी भएका छन् । महिला सदस्यमा देवीका चाम्लिङ, दलित सदस्यमा सुविन विश्वकर्मा, जनजाति सदस्यमा पारस चाम्लिङ राई, अल्पसङ्ख्यक सदस्यमा मिकाइल आलम निर्विरोध निर्वाचित भएका थिए ।

यसै गरी केन्द्रीय परिषद सदस्य खुल्लामा भैरब आङ्ला, बाबुराम सुबेदी र गोपाल दाहाल विजयी भएका छन् । केन्द्रीय परिषद् समावेशीबाट प्रदीप मेन्याङबो नरबहादुर लिम्बु र शुकदेव चौधरी विजयी भएका छन् । केन्द्रीय परिषद् महिलामा गङ्गा बराल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश परिषद् सदस्यको खुल्ला तर्फ योगेशबाबु काफ्ले , गोविन्द बस्नेत, अर्जुन सुबेदी, गवनसिंह चौधरी, चन्दन गुप्ता, पिए मणि भट्टराई, बाबुराम कार्की, हिमाल दाहाल र सुनिल चौधरी विजयी भएका छन् । महिला तर्फ यस अघि नै कानुन कार्की निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रदेश परिषद् समावेशीमा अनवरत हुसेन अन्सारी, आशिष् यादव, कुलदीप चौधरी, विकास चाम्लिङ राई, धिरेन्द्र चौधरी र सोहन श्रेष्ठ रहेका छन् ।