धरान : धरानमा आज (शुक्रवार) देखि भने केही वडाहरूमा खानेपानी आउन थालेको छ । धरान ११, १६, १७ र १८ नं. वडामा खानेपानी आउन थालेको हो । दैनिक पानी नआउँदा उपभोक्ताहरूमा समस्या भएको थियो । अब त्यो समस्या टर्दै जाने भएको छ । खानेपानी लाई सहज बनाउनका लागि प्रयत्न गरिरहेको धरान खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ। बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलका अनुसार अहिले मेयर तिलक राईको नेतृत्वमा तीव्र गतिमा दिन रात काम भइरहेको बताए ।

खानेपानी बोर्डका अध्यक्ष समेत रहेका मेयर राईले शुक्रवार बिहान ११, १६, १७ र १८ नं. वडाका उपभोक्ताहरूको घरघरमा पुगेर अवलोकन समेत गरेका छन् । अवलोकनका क्रममा वडा नं. १७ रत्न चौककी लक्ष्मी राईले विगत एक महिनादेखि खानेपानीको समस्या भइरहेको सुनाउँदै आजबाट भने पर्याप्त मात्रामा खानेपानी आएको बताइन । उनले भनिन, ‘खानेपानीको ट्याङ्की पनि भरियो, करेसाबारी र फूलहरूमा पनि पानी लगाउन पुग्यो ।’ धेरै दिनपछि यसरी पानी आएको बताउँदै उनले खुसी व्यक्त गरिन ।

Khanepani-Drn-2

सोही वडाकी उषा सुनुवारले पनि हिजो भन्दा आज धेरै पानी आएको सुनाइन । ‘केही समयदेखि दिन बिराएर पनि पर्याप्त पानी आउँदैनथ्यो’ ‘तर आज दुई घण्टा पानी आयो ।’ दिन बिराएर भए पनि १ देखि २ घण्टा सम्म पानी वितरण गर्न सक्यो भने खानेपानीको समस्या नहुने उहाँको भनाई छ ।

केटाकेटी र बुढाबुढी भएको घरमा पानी नभएपछि समस्या हुने गरेको उनको भनाइ छ । उनले समयमै पानी वितरण गर्ने कर्मचारी व्यवस्थापन गर्न जरुरी रहेको बताउँदै कर्मचारीकै लापरबाहीको कारण खानेपानीको भएको बताइन ।

यता वडा नं. १८ का स्थानीय हर्कराज राईले पनि अरुदिन भन्दा आज पानी धेरै आएको बताए । ‘आज पर्याप्त मात्रामै पानी आयो, यसभन्दा अघि चाहिँ दुई दुई दिनमा पालो सिस्टममा आउँथ्यो, त्यही पनि १५ देखि २० मिनेट सम्म आउँथ्यो, समस्या हुन्थ्यो ।’ सोही वडाका आस बहादुर पाहिमले धरानमा हरेक वर्ष सुख्खा याम सुरु भएसँगै खानेपानीको समस्या हुने गरेको बताए । उनले रात भरी ट्याङ्कीमा जम्मा भएको पानी वितरण नगरेको भन्दै दुखेसो समेत पोखे । ‘हुन त धरानमा पानीको समस्या छ’ ट्याङ्कीमा पानी नहुँदा त ठिकै छ, रात भरी ट्याङ्कीमा जम्मा भएको पानी हाम्रोमा एक थोपा आएन, यसमा पानी वितरण गर्ने प्लम्बरकै गल्ती छ ।’ पुराना प्लम्बरहरुका कारण पानी वितरणमा समस्या उनको बुझाइ छ ,

‘पुराना प्लम्बरहरुको कारण लापरबाही छ, पैसा नलिईकन प्लम्बरहरुले कामै गर्न नमान्ने ।’ ट्याङ्कीमा भएको पानी सही तरिकाले वितरण हुनुपर्ने उनले बताए । धरानमा थोरै समय भए पनि भएको पानीलाई समान तरिकाले वितरण गर्न सक्यो भने पानीको समस्या नहुने उहाँको बुझाई छ ।

यस्तै धरान १६ का पूर्ण राईले राति ४ बजेदेखि बिहान ९ बजे सम्म पानी आएको बताए । उहाँले खानेपानी सहज बनाउनका लागि सम्बन्धित पक्षले ध्यान दिन जरुरी रहेको उनले बताए । साथै उहाँले खानेपानी समस्या समाधान गर्न धराने जनता पनि स्थानीय सरकारसँग जोडिन आवश्यक रहेको बताए ।

Khanepani-Drn-6Khanepani-Drn-4