विराटनगर :  विराटनगरको सहिद रङ्गशालामा जारी विराट गोल्डकपमा गोर्खा ब्वाइज रुपन्देहीलाई टाइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शुक्रवार भएको दोस्रो खेलमा रुपन्देहीलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै भारत क्वारटफाइनलमा प्रवेश गरेको हो ।

सङ्घर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमको १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो ।

टाईब्रेकरमा भारतको तर्फबाट सरबजीत सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरीदेव सिंहले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए । रुपन्देहीका शक्ति राई र गौरभ श्रेष्ठले मात्र गोल गरे । आशिष गुरूङ्गको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए भने अजित गुरूङ्गले गरेको प्रहार पोसमा लागेर बाहिरियो ।

खेलको म्याद अफ द म्याच भारतको गोल रक्षक सतवीर सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो हाफदेखि आक्रामक भएको रुपन्देहीले खेलको ८० औँ मिनेटमा शक्ति राईले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । लुईस भिदलले निकालिदिएको फ्री किक शक्तिले सदुपयोग गरेका थिए ।

दोस्रो हाफमा गोल भएपछि भारत दबाबमा परेको थियो । तर रुपन्देहीका लागि अग्रताको त्यो खुसी लामो समयसम्म टिक्न सकेन । खेलको अन्त्य तिरमा रुपन्देहीका खेलाडी समालिन नसक्दा ९० औँ मिनेटमा भारतका जितेन्द्र सिंहले हेडमार्फत गोल गरी खेल बराबरीमा ल्याए । सरबजीत सिंहले निकालिएको पासलाई जितेन्द्रले हेडमार्फत चाली चुमाए । हरमिन्द्रको ठाउँमा मैदान प्रवेश गरेका जितेन्द्रले दोस्रो हाफपछि गोल गरेपछि खेल बराबरी भएको हो ।

खेलको २२ औ मिनटमा भारतका सुशील यादवले फस्ट बार च्यापेर गरेको प्रहार बाहिरियो । खेलको ४१, ७३ र ८९औँ मिनेटमा पनि रुपन्देहीले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नु परेको थियो ।
भारतका प्रशिक्षक हरनेक सिंहले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दा पनि नजिता टाइब्रेकरमा पर्खिनु परेको बताए । उनले दोस्रो खेलमा नयाँ रणनीति अपनाएर मैदानमा उत्रिने बताए । यता रुपन्देहीका प्रशिक्षक जगुनाथ खड्काले गोल गर्ने अवशरहरु खेर फाल्दा हार भएको बताए ।

शनिबारको खेल विराटनगर महानगरपालिका ११ र युनाइटेड फुटबल क्लब पश्चिम बङ्गाल बिच प्रतिस्पर्धा हुनेछ । विराटनगर ११ ले उद्घाटन खेलमा पाहुना टोली भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई २-१ गोलले हराएको थियो ।