धरान : रोयल च्यालेन्जर्स बेंगलोरले साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग ९आइपिएल० १४ औं संस्करणमा रोमाञ्चक विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा उत्कृष्ट प्रदर्शन गरेका एवि डी भिलियर्स २७ बलमा ४ चौका र २ छक्का सहित ४८ रनमा रन आउट भए ।

डी भिलियर्स अन्तिम ओभरको चौथो बलमा दुई रन लिनेक्रममा रन आउट हुन पुगेका थिए। अन्तिम दुई बलमा जितको लागि दुई रन चाहिएको थियो । पाँचौं बलमा मोहम्मद सिराजले एक रन लिए। अन्तिम बलमा हर्षल पटेलले एक रन जोड्दै बेंगलोरालाई रोमाञ्चक जित दिलाएका थिए ।

बेंगलोरले स्पिनर वासिन्टन सुन्दर र विराट कोहलीका साथ खेलमा ओपनिङ गराएको थियो । क्रुनाल पान्ड्याल पाँचौं ओभरको दोस्रो बलमा सुन्दरलाई १० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । छैटौं ओभरको पाँचौं बलमा ट्रेन्ट बोल्टले रजत पातिदरलाई ८ रनमा बोल्ड आउट गरे । तेस्रो विकेटका लागि विराट कोहली र ग्लेन म्याक्सवेलले ५२ रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए । कोहलीलाई १३ औं ओभरको तेस्रो बलमा जस्पित बुमराहले ३३ रनमा एलबिडब्लू आउट गरे । कोहलीले २९ बलमा ४ चौका प्रहार गरे ।

ग्लेन म्याक्सवेल २८ बलमा ३ चौका र २ छक्का सहित ३९ रनमा क्याच आउट भए । म्याक्सवेललाई दक्षिण अफ्रिका युवा तीव्र गतिका बलर मार्को जानसेनले क्रिस लिनबाट क्याच आउट गराएका थिए । मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मार्को जानसेनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्या र ट्रेन्ट बोल्टले १(१ विकेट लिए ।

त्यसअघि एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो। मुम्बईका ओपनर क्रिस लिनले सर्वाधिक ४९ रनको योगदान दिए। चौथो ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा १९ रनमा रन आउट हुन पुगे। कप्तान विराट कोहलीको थ्रोमा चहलले रोहितलाई रन आउट गरेका थिए। रोहितले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि लिन र सूर्यकुमार यादवले ४४ बलमा ७० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तीव्र गतिका बलर काइल जामिसनको ११ औं ओभरको अन्तिम बलमा सूर्य एज लागेर विकेटकिपर एवि डि भिलियर्सबाट ३१ रनमा समातिन हुन पुगे । सूर्यले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । स्पिनर वासिन्टन सुन्दरको बलमा ठूलो सटका साथ अर्धशतक पुर्याउने धुनमा लिन ४९ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । लिनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । १६ औं ओभरको अन्तिम बलमा हर्षल पटेलले हार्दिक पान्ड्यालाई १३ रनमा एलबिडब्लू आउट गरे ।

ईशान किशन १९ बलमा २ चौका र १ छक्का सहित २८ रनमा एलबिडब्लू आउट भए । हर्षल पटेलको बलमा कप्तान विराट कोहलीले रिभ्यू लिँदै ईशानलाई पेभिलिएन फर्काएका थिए । क्रुनाल पान्ड्या र काइरन पोलार्ड ७–७ रनमा आउट भए । हर्षलले अन्तिम ओभरमा एक रन आउट सहित १ रन खर्चिदै ४ विकेट लिएका थिए । बेंगलोरका तीव्र गतिका बलर हर्षल पटेलले ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिए । डेब्यू खेल खेलेका काईल जामिसनले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । वासिन्टन सुन्दरको नाममा १ विकेट रह्यो।

मुम्बईले दोस्रो खेलमा १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले आफ्नो दोस्रो खेल १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्ने छ ।