धरान :नेपाली काँग्रेसका एक नं प्रदेशका संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकार आर्थिक हिसाबमा टाट पल्टेको बताए ।

कोइराला सेवा समाज नेपाल सुनसरीले इनरुवा ६ झकनझोडामा आफ्नो भवनमा आयोजना गरेको ७ औ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

कोइरालाले प्रदेश सरकारले ६३ वटा योजना १ एक वर्षमा पूरा गर्नु पर्ने बताउँदै त्यो सम्भव नभएको बताए । उनले रातो किताबमा परेका कामहरू समेत ५० प्रतिशत पनि पूरा नभएको बताउँदै प्रदेश सरकार टाट पल्टेकाले यो पूरा हुन असम्भव रहेको बताए । उनले बजेटकै कारण संसद् अवरुद्ध भएको बताउँदै आइतबार संसद् बैठक बोलाइएको समेत स्पष्ट पारे ।

यसै गरी पत्रकारिताको माध्यमबाट समाज सुधारका पक्षमा अहोरात्र खटिई समाजलाई पुर्‍याएको योगदानको कदर गर्दै सुनसरीमा रहेर पत्रकारिता गर्दै आएका धरानका अग्रज पत्रकार हर्ष सुब्बा, भैरव आङ्ला, रत्न आचार्य र गोविन्द बस्नेत सम्मानित भएका छन् भने इटहरीबाट कृष्ण विनोद लम्साल,इनरुवाबाट राजन निरौला र अमर काफ्ले पनि सम्मानित भएका छन् ।

सम्मानित हुने सञ्चारकर्मीहरूलाई समाजका केन्द्रीय अध्यक्ष माधवप्रसाद कोइराला, सुनसरी अध्यक्ष गोपाल कोइराला ‘त्यागी’ र नेपाली काँग्रेस प्रदेश नंं १ संसदीय दल का नेता राजीव कोइरालाले दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरेका थिए ।

यस्तै संस्थाले समाजलाई सहयोग पुर्‍याउने तथा कोइराला परिवारका ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरेको छ । कोइराला सेवा समाज सुनसरीका अध्यक्ष गोपाल कोइराला ‘त्यागी’ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ओमप्रसाद कोइरालाले गरेका थिए ।

सो अवसरमा निर्माण समितिले अहिलेसम्म २१ लाख ४७ हजार खर्च भइसकेको र ४९ हजार ८० रुपैयाँ बैङ्क खातामा जम्मा भएको पनि जानकारी दिएको थियो ।

Koirala-sewa-Samaj