विराटनगर : विराटनगरको सहिद रङ्गशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिवार साँझ भएको पहिलो क्वाटर फाइनल खेलमा भारतको वेस्ट बङ्गाललाई ३-० गोलले हराउँदै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो। जितसँगै विराटनगरले चैत ३० गते हुने सशस्त्र प्रहरी बल, काठमाडौँ र नेपाल प्रहरी काठमाण्डौको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । 

एक पक्षीय खेल पस्किएको विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरेका छन् । खेलको २५ औँ मिनेटमा सुनिल खड्काले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । प्रकाश बुढाथोकीले निकालेको क्रस पासलाई सुनिलले डिबक्स भित्रदेखि गरेको प्रहारले जाली चुम्दा भारतका गोलरक्षक निजम सिंह प्रतिक्रियाविहीन रहे । घरेलु दर्शकको साथ पाएको विराटनगरले गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फाल्यो । 

खेलको पाँच मिनेटमै विराटनगरका प्रकाश बुढाथोकीको पासमा कप्तान दिपेन राईले गोल गर्ने गतिलो अवसर गुमाए । दीपकले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो । यस्तै ९ औँ मिनेटमा विराटनगरका सुनिल खड्काले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोस माथिदेखि बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । 

पहिलो हाफमा विराटनगरले भारतलाई  दबाबमा राखेको थियो । तर थप गोल गर्न सकेन । पहिलो हाफसम्म १-० गोलले अग्रता कायम गरेको विराटनगरले दोस्रो हाफदेखि भारतका खेलाडीले सुधारेर खेल प्रदर्शन गर्‍यो । 
खेलको ६८ मिनेटमा भारतका सौरभ तामाङले बल रोक्दै प्रहार गर्नुपर्ने स्थितिमा सोझै प्रहार गर्दा फितलो हुन पुग्यो । ७० औँ मिनेटमा भारतका सुरज राउतले पाएको अवसर विराटनगरका गोल रक्षक किशोर गिरी बाधक बने । सुरजले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । पहिलो हाफमा १ गोलले पछि परेको भारतले दोस्रो हाफमा भने राम्रो खेल प्रदर्शन गर्न सकेन । ७५ औँ मिनेटमा त्रिकिकको अवसर पाए पनि भारतले सदुपयोग गर्नबाट चुक्यो । 

खेलको ८६ औँ मिनटेमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहारले चाली चुम्यो । सन्तोष खड्काले निकालेको क्रस पासलाई प्रकाशले क्लियर गरेका हुन् । सुनिलले दोस्रो गोल गरेको दुई मिनेट बित्न नपाउँदै सुनिलले खेलको ८८ औँ मिनेटमा गोल गरे । उनले गरेको गोल टिमको जितको लागि निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच विराटनगरका सुनिल खड्का घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए । 
विराटनगरका प्रशिक्षक सञ्जीव बुढाथोकीले पहिलो हाफमा खेलाडीहरूले सोचेजस्तो प्रदर्शन नगरे पनि दोस्रो हाफदेखि राम्रो खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए । सेमिफाइनल खेलमा रणनीति परिवर्तन गरी खेल प्रदर्शन गर्ने उनले बताए ।

‘सेमिफाइनलमा राम्रो टिम सँग प्रतिस्पर्धा हुदैछ,’ उनले भने, ‘केही खेलाडी र फरवार्ड परिवर्तन गर्ने योजना बनाएको छु ।’ यता भारतका प्रशिक्षक अनिमेष तामाङले पाएको थुप्रै अवसरहरू खेलाडीले खेर फाल्दा हार भएको बताए ।  भोलिको दोस्रो क्वाटर फाइनल खेल मच्छिन्द्र क्लब काठमाडौँ र भारतको पन्जाब पुलिस बिच प्रतिस्पर्धा हुनेछ ।

भारतको पन्जाबले शुक्रवार टाई ब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४-२ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । 

Birat-Gold-Cup-1