इनरुवा : सुनसरीको थारु बाहुल्यता पालिकाहरूमा रहेका ग्रामथान पछिल्लो समय विभिन्न व्यक्तिहरूको अतिक्रमणका कारणले थारुहरूको पहिचान सँग जोडिएको संस्कृतिको धरोहर नै नासिने हुँदा संरक्षणका लागि पहल गरी दिन आग्रह गरेका छन् ।

ग्रामथान संरक्षण समिति सुनसरीले शनिवार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा थारुहरूको धार्मिक पहिचान तथा संस्कृति बोकेका ग्रामथान, पानीघट्टा, गौचरण तथा पोखरीहरू स्थानीय व्यक्ति तथा भू माफियाले गर्दा सङ्कटमा पारी रहेको हुँदा सरकारको ध्यानाकर्षण गर्न आग्रह गरेका हुन ।

आदिम काल देखि नै थारुहरूको आस्थाका धरोहर रहेको तथा जन्म देखि मृत्यु संस्कार सम्मका लागि धार्मिक स्थल ग्रामथानहरू पछिल्लो समयमा नेपाल सरकारले नै विभिन्न नियम कानुन बनाएर बाटो घाटो सरकारी भवन, विद्यालय बनाउने नाउँमा अतिक्रमण बढेकाले सङ्कटमा परेको ग्रामथान संरक्षण समितिका अध्यक्ष तेज नारायण चौधरीले बताए ।

उनका अनुसार पछिल्लो समय विभिन्न व्यक्तिहरूले ग्रामथान नजिकै पाँच दश धुर जग्गा लिने र थानको जग्गा अतिक्रमण गरी आफ्नो जग्गामा समाहित गराई रहेको अवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय धार्मिक तथा संस्कृति स्थलहरूको संरक्षण गर्ने भनी प्रस्ट व्यवस्था भए पछि स्थानीय तहका जनप्रतिनिधिहरुले ग्रामथान संरक्षणका लागि कुनै पहल कदमी उठाएको देखिँदैन ।

रामधुनी-८ अर्ता स्थित रहेको ग्रामथान नजिक पछिल्लो समयमा विभिन्न व्यक्तिहरूले वरिपरि घडेरी जग्गा खरिद गरी बसोबास गर्दा थानको जग्गा समेत अतिक्रमणमा परेको स्थानीय पुजारी बद्री नारायण चौधरीले बताए । उनका अनुसार ग्रामथानको एक कठ्ठा बढी जग्गाहरू स्थानीय संधियारहरुले आफ्नो जग्गामा समावेश गरी भोगी रहेका छन् ।

त्यसै गरी रामधुनी-४ विच्छुधामी ग्रामथान नजिक स्थानीय व्यक्तिले जग्गा खरिद गरी उल्टै घर टहरा हटाउनु भन्दै अदालतमा मुद्दा समेत दिएर थारुहरूको पहिचान नै नासिने गरी ग्रामथानमा आक्रमण गरेको स्थानीय पुजारी श्रवण चौधरीले गुनासो गरेका छन् ।

त्यसै गरी इटहरीको गोरखा डिपार्टमेन्ट अगाडी पूर्व पट्टी मुख्य सडक सँग जोडिएको ग्रामथान, चकना महादेव ग्रामथान, जब्दीग्राम थान जितनधामी लगायतका ग्रामथानहरू सङ्कटमा परेको अवस्था छ ।

थारु समुदायले चैत्रमा बहरजत्रा शुभ साइत सन्सारी पूजा गरी नयाँ वर्ष वैशाख १ गते सिरुवा वर्ष गर्नका लागि पनि स्थानीय ग्रामथानमा गई पूजाआजा गरी आशीर्वाद लिने गर्छन् भने ग्रामथानमा विशेष गरी अखाडी पूजा, नेमानी पूजा लगायत शुभ कार्य गर्दा समेत ग्रामथानमा गई पूजा अर्चना गरी आसिस लिने परम्परा रहेको छ ।

सुनसरीको थारु बसोबास रहेको ठाउँमा करिब ३ सयको हराहरीमा रहेको ग्रामथान ५ सय भन्दा बढी रहेको पोखरी र कुपा, पानीघटाहरु सङ्कटमा परेको थारु महिला सभाका केन्द्रीय सचिव सुशीला चौधरी तथा ग्रामथान संरक्षण समितिका सचिव सावित्रा चौधरी लगायतले ग्रामथान संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइ दिन आग्रह गरेका छन् ।