झापा : स्वदेशमै केही गरौँ भने पढाई अनुसारको रोजगारी मिल्दैन । प्राइभेट अफिसमा जागिर खान गयो तलब थोरैं काम धेरै । अनि धेरैजसोको रोजाइमा पर्ने गर्छ वैदेशिक रोजगार । वैदेशिक रोजगारीमा जाने भन्ने बित्तिकै स्वदेशमै इलम गर्छु ऋण देऊ न भन्दा नपत्याउने साहु पनि ऋण दिन तयार हुन्छन् । काम र दामको खोजीमा हाम्रा नेपाली दाजुभाइ अनि दिदिबहिनीहरु विदेशतिर लम्की रहँदा विदेशबाटै आएर हाम्रै देशमा चित्त बुझ्दो आम्दानी गर्नेहरुपनि छन् भन्दा पत्यार नलाग्न सक्छ ।

तर, त्यस्ता धेरै उदाहरणहरू छन् जो छिमेकी मुलुक भारतबाट आएर विभिन्न पेसा गरेर चित्त बुझ्दो आम्दानी गर्दै परिवार पालिरहेका छन् । तिनै मध्येका एक प्रतिनिधिमूलक पात्र हुन् सपन विश्वास । चाउरी परेको अनुहार । सेतो हाफ सर्ट लगाएका अनि कम्मरमा गम्छा बाँधेर हातमा चियाको कित्लीसँगै चुल्हो पनि बोकेर दमकका चोक चोकमा भेटिन्छन् सपन विश्वास । उमेरले ६० पुगेका उनका तिन जना छोराछोरी छन् । उनीहरू सबै भारतमा छन् । सपनको घर पनि भारत नै हो । भारतको पश्चिम बङ्गालस्थित मुसिदाबाद हो उनको घर । तर वर्षौँदेखि सपन आफ्नी श्रीमती सहित झापास्थित दमकमा बस्दै आएका छन् ।

उनको दैनिकी भनौँ या रोजगारी भनौँ, सधैँ हातमा चुल्हो अनि कित्ली बोकेर चिया बेच्दै हिड्ने नै हो । उनी दैनीक २ सय कप भन्दा बढी चिया बेच्ने गरेको बताउँछन् । मासिक रूपमा १७/१८ हजार रुपैया कमाई हुने गरेको उनले सुनाए । 'के गर्नु बाल बच्चा पाल्नै पर्‍यो, मान्छे सानो काम गर्न लजाउँछन्, तर पैसा नै सानो काममा छ ।' सपनले भने ।

कोभिड महामारीका कारण आफ्नो व्यवसाय चौपट बने पनि बिस्तारै तङ्ग्रिँदै गर्दा फेरी लक डाउनको हल्लाले भने उनलाई साह्रै चिन्तित बनाएको छ । कोभिड महामारी फैलिनु भन्दा अघि सम्म त उनको कमाई अलि बढी नै थियो तर पछिल्लो समय व्यापार घटेको उनी बताउँछन् । आफ्नै गाउँघरमा काम गर्न लजाउँनेहरुका लागि भारतबाट आएर यहाँ चिया बेचेरै आफ्नो परिवारको गर्जो धान्दै आएका सपन विश्वास वास्तवमै हाम्रा लागि एक उदाहरण बनेका छन् ।

स्वदेशमा रोजगारी नै छैन भन्नेहरूका लागि त झन् सपन झापड बनेर प्रस्तुत भएका छन् । उनी त एक उदाहरण पात्र मात्रै हुन् । सपन जस्ता थुप्रै सपनहरु आफ्नो देश छाडेर आएर पनि चित्त बुझ्दो कमाई गरेर आफ्नो र परिवारको खर्च धानिरहेका छन् ।