सङ्खुवासभा : जिल्ला अस्पताल सङ्खुवासभा प्रदेश १ मा पहिलो बनेको छ ।

प्रदेश १ का १४ वटा अस्पताललाई पछि पार्दै जिल्ला अस्पताल सङ्खुवासभा पहिलो भएको हो । न्यूनतम सेवा मापदण्ड मापनमा जिल्ला अस्पताल सङ्खुवासभाले ७१ प्रतिशत अङ्क ल्याएर प्रथम भएको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताए । यस अघि सङ्खुवासभा प्रदेश १ मा १२ औ स्थानमा थियो ।

५० बेडको दितिय स्तरको प्रादेशिक अस्पताल १ नम्बर प्रदेशमा १४ वटा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए । जनशक्तिको व्यवस्थापन, आर्थिक व्यवस्थापन, औजार उपकरणको उपलब्धता र प्रयोग, मानव संसाधन व्यवस्थापन, बिरामीको सेवा सुविधा, फोहर मैला र विपत् व्यवस्थापनमा भएका ९ सय ३९ अङ्कमा ७१ प्रतिशत ल्याएको अध्यक्ष शाक्यले बताए । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की समेतको विज्ञ टोलीले अनुगमन गरेका थिए ।

आगामी वर्षमा थप नयाँ सुविधा अस्पतालमा थप्ने पनि उनले बताए । यसै आर्थिक वर्षमा ब्लड कल्चर सेवा र हार्डजोर्नी विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारीमा रहेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताए । उनका अनुसार आगामी आर्थिक वर्षमा सिटी स्क्यान र आइसियु सञ्चालन गर्ने लक्ष राखेको छ । उनले जिल्ला अस्पताल सङ्खुवासभालाई प्रदेशमै नमुना बनाइने पनि बताए ।