धरान : धरान उपमहानगरपालिकामा यति बेला खानेपानीको चरम अभाव सिर्जना भएको छ । खानेपानीको चरम अभाव यो वर्ष मात्रै होइन विगतका वर्षहरूमा पनि हुँदै आएको हो । तर यस पटक भने विगतका वर्षहरूको तुलनामा खानेपानी अभावले धरानवासीको दैनिक जनजीवनमानै गम्भीर असर पारेको छ ।

खानेपानीको चरम अभाव भइरहेको बेलामा एउटा समूह सडकमा दैनिक आन्दोलन गर्दै आइरहेको छ भने धरान उपमहानगरपालिकाका मेयर र उपमेयर भने आ-आफ्नो धारणा सार्वजनिक गर्दै एक अर्कालाई दोष लगाउँदै आएका छन् ।

केही दिन अघि मात्रै उपमेयर मञ्जु भण्डारी सुबेदीले 'धरानमा खानेपानीको चरम अभाव हुनुको मुख्य कारण मेयर तिलक राईले चारकोशे जङ्गलमा रहेको ७ वटा खानेपानीको वेल मात्रै सञ्चालन गरेर २ वटा बन्द गरेकोले यसको हिसाब किताब जनताले खोज्नुपर्ने'एक सञ्चार माध्यममा भनेकी थिइन् ।

यसले धरानको खानेपानी समस्या समाधानलाई समाधान गर्नुको साटो आफू पानीमाथिको ओभानो बन्न खोजेर खानेपानी समस्यालाई झन् समस्याको रुपमा देखाएर दोष जति मेयरलाई उपमेयरले थोपरेको स्पष्ट देखियो ।

त्यही अभिव्यक्तिले अहिले हर्क साम्पाङको नेतृत्वमा दीर्घकालीन खानेपानी व्यवस्थापन सङ्घर्ष समितिको आन्दोलनलाई थप मलजल गरेको देखिन्छ। धरानको खानेपानी समस्या समाधान चाडै हुने भन्दै आज धरान उपमहानगरपालिकामा धरान खानेपानी व्यवस्थापन बोर्डले पत्रकार सम्मेलनको आयोजना गर्‍यो ।

पत्रकार सम्मेलनमा अहिले सम्म धरानमा खानेपानी समस्या समाधानका लागि केही दिन देखि दिनरात खटेर चारकोशे जङ्गलबाट ल्याइएको मुख्य पाइपलाइन ट्रंकलाईनको मर्मत गरेको र धरानको केही खानेपानीको रिर्जव टङ्कीलाई फुल गराएर सहजरुपमा पानी वितरण गर्ने योजना बोर्डको रहेको बोर्डका अध्यक्ष समेत रहेका मेयर तिलक राईले पत्रकार सम्मेलनमा बताए ।

मुख्य पाइप लाइनका भल्वहरु बन्द गरेर रिर्जव टङ्कीमा पानी खसाउन थालिएको भन्दै केही दिनमै धरानवासीको घरमा पानी सहज आपूर्ति हुने बताए । केही समस्याहरू खानेपानी वितरणमा भएकोले त्यो समस्या समाधान गरेर उपभोक्ताले खानेपानी उपभोग गर्न सक्ने गरी बोर्ड लागेकोले नगरवासीहरू ढुक्क हुन मेयर राईले आग्रह पनि गरे ।

खानेपानीमा प्राविधिक समस्या

धरानको खानेपानी समस्यालाई समाधान गर्नका लागि भनेर नेपाल सरकार तथा एसियाली विकास बैकको अनुदान तथा ऋण र धरान उपमहानगरपालिकाको लागत सहभागितामा सञ्चालन भएको एकीकृत सहरी विकास आयोजना अन्तर्गत धरान खानेपानी परियोजना र धरान खानेपानी व्यवस्थापन बोर्ड गत फागुन १७ गते मर्ज भयो ।

खानेपानी संस्थानको सम्पत्ति र दायित्व बोर्डमा समाहित भएपछि धरानको खानेपानी समस्या समाधान हुनेमा आम धरानबासी विश्वस्त थिए । धरान उपमहानगरपालिकाका जिम्मेवार वडाध्यक्षहरू स्यंम मर्ज हुनुपर्छ भन्ने पक्षमा जनतानै नगरसभामा उतारेका थिए ।

धरान-१६, ९ र १९ नम्बर वडाध्यक्षले स्वयं नगरसभा हुनुपुर्व नारा जुलुसमा संलग्न थिए । अन्ततः संस्थान र बोर्ड मर्ज भयो । खानेपानी समस्या ज्युँका त्युँ मात्रै होइन अझ धेरै बढेर गयो । त्यतिखेर मर्ज हुनुपर्छ भन्ने उपमेयर सहितका जनप्रतिनिधिहरू कडारुपमा प्रस्तुत भएकाहरुनै यति बेला खानेपानी समस्या समाधान गर्ने भनेर कहीँ कतै कुनै कित्तामा उभिएको देखिएका छैनन् । उपमेयर मञ्जु भण्डारीले त सार्वजानिक रुपमै मेयरलाई सिधै आरोप नै लगाइन् ।

प्राविधिकहरूका अनुसार चारकोशे जङ्गलबाट ल्याइएको भूमिगत पानी धरान सम्म ल्याएर वितरण गर्न नै समस्या छ । मुख्य पाइपलाइन ट्रङ्क लाइनमै समस्या रहेको छ । मुख्य पाइपलाईनबाट धरान ८ र १९ मा पानी वितरण गरिएकोले भूमिगत पानी रिर्जव टङ्की सम्म सहजै आइपुग्नै समस्या हुने गरेको छ ।

विडिएका परामर्शकर्ता अनिल नेपालका अनुसार यसरी मुख्य पाइप लाइनबाटै पानी वितरण हुने भएकोले उत्पादन भएको पानी धरानको मुख्य रिर्जव टङ्की सम्म आइपुग्नै दुई अढाई घण्टा लाग्ने गर्छ । २ घण्टा पम्पलाई रेष्ट गराउँदा र पम्प चालु भएर पानी पठाउँदा मुख्य रिर्जव टङ्की सम्म पानी आइपुग्न करिब ५ घण्टा लाग्ने देखियो ।

यसो हुनुको मुख्य कारण मुख्य पाइप लाइनमा पानी फर्किएर जानुले यस्तो भएको नेपालले बताउँदै अव बिचको भल्वहरु बन्द गरेर जमिन मुनिको पानी पम्प चालु भएको १० मिनेटमा रिर्जव टङ्कीमा झार्ने तयारी भइरहेको बताए ।

दुई वटा वेल कसरी बने ?

अहिले पछिल्लो समय चार कोशे जङ्गलमा दुई वटा वेल सञ्चालनमा नरहेको र मेयरले बन्द गरेको उपमेयर मञ्जु भण्डारी सुबेदीले बताए पछि अहिले सो वेलको निकै चर्चा चुलिएको छ ।

आइयुडिपीले जुन अहिले चालु अवस्थामा रहेको ७ वटा वेलबाटै धरानको खानेपानी समस्या समाधान हुने गरी पानी उत्पादन हुने भन्दै खनिएको हो । तर ७ वटा वेल बाहेक २ वटा वेल भने परियोजनाको डिपिआरमा परेको देखिँदैन ।

तत्कालीन उपमेयर मञ्जु भण्डारी सुबेदी कार्यवाहक मेयर भएको बेलामा नगर प्रमुख स्तरीय निर्णय गरेर २ वटा वेल २ करोड १६ लाख रुपैयाँमा रेष्मा डिप बोरिङ ट्युबवेल उद्योग विराटनगरसँग सम्झौता गरी खनिएको हो । यो ट्युबवेल खनिए पछि अहिले सम्म धरान उपमहानगरपालिकाले १ करोड ८ लाख रुपैयाँ समेत उद्योगलाई रकम निकासा गरेको देखिएको छ ।

बाँकी आधा पैसा भुक्तानी गर्न बाँकी देखिएको छ । यो दुई वटा वेलमा चरम भ्रष्टाचार भएको अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा यो दुई वटा वेलको बारेमा निकै चर्चा भएको थियो । यो वेलको बारेमा आफू अन्योलमा रहेको बताउँदै मेयर तिलक राईले दुई वटा वेलको बारेमा प्रक्रियागत निर्णय नभएको दाबी गरे ।

उनले भने मैले बन्द गरेको होइन, परियोजना भित्र नबनेको र ७ वटा वेलबाट त्यतिखेर गरिएको सम्झौता अनुसार परियोजनाले यो परिक्षणकालमा पानी उत्पादन गरेर देखाउनुपर्छ । सम्झौतामा भनिए अनुसार पानी उत्पादन नभएको खण्डमा परियोजना धरान उपमहानगरपालिकाले नलिने मेयर राईले बताए ।

भ्रष्टाचारको आशङ्का 

धरानको खानेपानी समस्यालाई समाधान गर्नका लागि भनेर कोशीको पानी नल्याई भूमिगत पानी निकालेर समस्या समाधान गर्ने बताएको परियोजना अहिले सम्म आइपुग्दा धरानमा झन् गम्भीर खानेपानी समस्या देखिएको छ ।

त्यतिखेर जसरी अध्ययन गरेर पानी आपूर्ति र उत्पादन जुन स्टेटमेन्ट हुन्छ भनिएको थियो । त्यो अनुसार नहुँदा यहाँ खानेपानीको नाममा भ्रष्टाचारको आशङ्का गरिएको छ । तत्कालीन खानेपानी परियोजनाका लागि निर्णायक तहमा बसेका र तत्कालीन स्थानीय सरकार प्रमुखले अहिले समस्या सिर्जना भएको विषयमा जिम्मा लिनुपर्छ ।

जिम्मेवारीबाट पन्छिन नदिई उनीहरूलाई जनताको अगाडी उभ्याएर धरानको खानेपानीमा वास्तविक के भएको हो भन्ने बारेमा खुलेर भन्न सक्नुपर्छ । यदि यसो भएन भने धरानको खानेपानी समस्या सधैँ यसै गरी व्यूझिरहन्छ ।