इटहरी : इटहरीबाट धरान जाँदै गरेको ट्रिपरको ठक्करले इटहरीका एक वृद्धको मृत्यु भएको छ । इटहरी-२ आपगाछीका अन्दाजी ७५ बर्षीय कर्ण बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय टङ्क दाहालका अनुसार पैदल यात्रु गुरुङले बाटो काट्न खोज्दा ट्रिपरले ठक्कर दिएको हो । तरहराकै प्रदेश १-०२-००१ ख ८६६५ नम्बरको ट्रिपरले ठक्कर दिएको हो । चालक इटहरी १९ का अनिल कुमार चौधरी हाल प्रहरी नियन्त्रणमा छन् ।

उता वृद्धको मृत्यु पछि स्थानीयले कोसी राजमार्ग अवरुद्ध गरेका छन् । मृतकको क्षतिपूर्ति लगायत माग राखेर स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । दुर्घटना स्थलमा चक्का जाम गरेका उनीहरूले ट्रिपरको आतङ्क बढी भएको भन्दै धर्ना दिएका हुन् ।

आन्दोलन थप भड्किन सक्ने भन्दै इलाका प्रहरी कार्यालय इटहरीको टोली खटिएको छ । हालसम्म कुनै समस्या नभएको र आवश्यक परे जिल्ला प्रहरीको समेत साथ लिइने इटहरी प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताए।