धरान : माधव नेपाल समूहको नेकपा एमाले जिल्ला कमिटी सुनसरीले तीन महिने अभियान चलाउने भएको छ ।

पार्टीका अध्यक्ष केपी ओलीले स्वेच्छाचारी निर्णय गदै पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कारबाही गरे पछि पार्टीले समानान्तर कमिटी बनाएर गाउँ अभियान थालेको हो । आइतबार इटहरीमा जिल्लाका अगुवा कार्यकर्ताहरूलाई अभिमुखीकरण गदै पार्टीले गाउँ गाउँसम्म सङ्गठन विस्तार गर्न निर्देशन जारी गरेको छ ।

जिल्ला अध्यक्ष रमेश बस्नेतको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज भीम आचार्य, पोलिट ब्युरो सदस्य परशुराम मेघी गुरुङ केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौला, केन्द्रीय सदस्यहरू महफुल अन्सारी लगायत प्रदेश कमिटी, जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

केपी ओलीले नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जनतिर लगेको विषयमा आम नागरिकलाई बुझाउन आवश्यक रहेको भन्दै पार्टीले गाउँ केन्द्रित अभियान थालेको नेता आचार्यले प्रतिरक्षात्मक मन्तव्यमा उल्लेख गरे । स्वेच्छाचारी ढङ्गले कानुन नमान्ने, विधि नमान्ने, पार्टी नमान्ने सिद्धान्त नमान्ने मैँले यस्तो गरेँ भन्ने ।

यस्तो खालको निर्लज्ज कामको उपचार पार्टी कार्यकर्ताको परिचालनबाट दिने उद्घोष गरिएको छ । ‘प्रधानमन्त्री ओलीले सेटिङमा न्यायालय चलाउने, आफ्नो अनुकूलमा व्यवस्थापिका चलाउने यो प्रवृत्तिको हामी गाउँ गाउँमा पुगेर जनतालाई बुझाउँछौँ । जनतालाई भएको भ्रमण चिरेर अव सुद्ध एमाले निमार्ण गर्ने काम हाम्रो काँधमा आएको छ ।’-नेता आचार्यले कार्यकर्ताहरूलाई भने ।

कार्यकर्ताहरूलाई भ्रममा राखेर ओलीले स्वेच्छाचारी गतिविधि गरेका कारण पार्टी समस्यामा परेको भन्दै अव कार्यकर्ताहरू गाउँ गाउँ पुगेर ओली प्रवृत्तिको भण्डाफोर गर्नु पर्ने केन्द्रीय सदस्य नेता निरौलाले बताए ।
नेताहरूले पार्टीको सैद्धान्तिक र व्यवहारिक महत्त्व, अबको पार्टीको कार्यदिशा, जनताको बहुदलीय जनवादको विषयमा कार्यकर्ताहरूलाई प्रस्ट पारे ।

प्रत्येक स्थानीय तहमा रहेका केन्द्रीय सदस्यहरू,प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी सदस्यहरू उत्प्रेरकको रूपमा रहेर घरदैलो टोल भेला, सदस्यता नवीकरण कार्यक्रम थालनीको योजना बनाइएको छ । वडा कमिटी गठन नभएको ठाउँमा वडा कमिटी गठन गरी वैशाख १५ गते भित्र विभिन्न जनसङ्गठनको जिल्ला स्तरको भेला सम्पन्न गर्ने निर्णय पार्टीले गरेको छ ।

यस्तो छ एमालेको गाउँ फर्क अभियान
-जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम चैत २९ गते गर्ने ।

-पालिका स्तरीय तयारी बैठक २०७८ वैशाख ७ गते भित्र (प्रदेश कमिटी सदस्य,जि.क. सदस्य, स्थानीय तहको कमिटी सदस्य सहभागी भई) पालिका स्तरको अभिमुखीकरण, वडा बैठकको तयारी,वडाको अभियन्ताको निश्चित गर्ने, झन्डा,ब्यानर प्रचार सामाग्रीको तयारी गर्ने र अनेम सङ्घ, युवा सङ्घ, मुक्ति समाज, अनेरास्ववियु, प्रेस चौतारी नेपाल, बुद्धिजीवी परिषद्, मजदुर सङ्गठन, शिक्षक सङ्गठन लगायतका मातृ सङ्गठन सहित गाउँ स्तरमा कम्तीमा ५ वटा, नगर स्तरमा कम्तीमा ८ वटा र उपमहानगरस्तरमा कम्तीमा १० वटा जनसङ्गठन कमिटी निर्माणको तयारी गर्ने ।

-पालिका स्तरको अभिमुखीकरण कार्यक्रम वैशाख १२ गते भित्र सम्पन्न गर्ने ।

-वडा कमिटीको बैठक वैशाख २० गतेसम्म सम्पन्न गर्ने (घरदैलो टोल भेला,सदस्यता नवीकरणको योजना बनाउने) वडा कमिटी गठन नभएको ठाउँमा वडा कमिटी गठन गर्ने ।

-वैशाख १५ गते भित्र विभिन्न जनसङ्गठनको जिल्ला स्तरको भेला सम्पन्न गर्ने । भेलाले स्थानीय तहको कमिटी निर्माणको कार्य योजना बनाउने ।

-वैशाख २० गतेभित्र पालिका स्तरको जनसङ्गठनको निर्माण सम्पन्न गर्ने ।

-वैशाख २० गते देखि जेठ २०गते सम्म सदस्यता नवीकरण,घरदैलो अभियान,टोल भेला,पार्टी प्रवेश, टोल कमिटीको निर्माण सम्पन्न गर्ने ।

-जेठ २० गते देखि जेठ मसान्तसम्म कोण सभा गर्ने, वडाको समीक्षा बैठक बस्ने,सदस्यता अभिलेखीकरण गर्ने र वडाको प्रतिवेदन तयारी गर्ने ।

-असार १ गतेदेखि १० गतेसम्म पालिका स्तरको सभा गर्ने सदस्यता अभिलेख तयार गर्ने समीक्षा बैठक गर्ने प्रतिवेदन तयार गर्ने ।

-असार १५ गतेसम्ममा जिल्ला स्तरीय समीक्षा बैठक गर्ने र प्रतिवेदन तयार गर्ने ।