विराटनगर : विराटनगरको सहिद रङ्गशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको पन्जाब पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब काठमाण्डौंलाई २-० गोलले हराउँदै भारतको पन्जाब पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै चैत ३१ गते हुने अफ्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन र सङ्कटा ब्वाइज स्पोटिङ्ग क्लब काठमाण्डौं बिच प्रतिस्पर्धा हुनेछ ।

खेलको सुरु भएको ३९ औँ मिनेटमा पन्जाबका राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो । जगदिप सिंहले दिएको क्रस पासलाई राजवीरले वान टचमै गोल गरे । आक्रामक भएर मैदान उत्रिएको मछिन्द्रले पन्जाबलाई दबाबमा राखे पनि पहिलो हाफसम्ममा गोल गर्न सकेनन्।

मछिन्द्रले पाएको गोल गर्ने थुप्रै अवसर खेर गयो । खेलको २० औँ मिनेटमा मछिन्द्रका उमेश राईले पेनाल्टी एरियादेखि वान भर्सेस वानको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए । खेलको २२ औँ मिनेटमा पन्जाबका राजवीर सिंहले पेनाल्टी एरियामा पाएको बललाई टच गर्न नसक्दा थप गोल गर्नबाट चुक्यो । ३१ औँ मिनेटमा पन्जाबका तरन्जित सिंहले डिबक्स एरियादेखि गरेको प्रहार बाहिरियो ।

दोस्रो हाफदेखि आक्रामक भएको पन्जाबले खेलको ८३ औँ मिनेटमा महावीर सिंहले गोल दोब्बर बनाए । सरबजीत सिंहले निकालिएको फ्रिकिकलाई उनले वान टचमै पोस्टको दिशा दिएका थिए । त्यही गोल निर्णायक साबित भयो । खेलको ५४ औँ मिनेटमा मछिन्द्रका निशान्त लिम्बुले पेनाल्टी बक्सबाट गरेको पहार बाहिरिँदा गोल फर्काउने अवसरबाट मच्छिन्द्र वञ्चित भएको थियो । ५९ औँ मिनेटमा पन्जाबका राजवीर सिंहले पेनाल्टी बक्सबाट गरेको प्रहार बाहिरीएको थियो । खेलको म्यान अफ द म्याच जगदिप सिंह घोषित भए । सोमबारको खेल दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबिच हुनेछ ।

पन्जाबका प्रशिक्षक हर्नेक सिंहले लिग विजेता टिमलाई हराउन पाउँदा खुसी लागेको र त्यसको सबै श्रेय खेलाडीले पाउने प्रतिक्रिया दिए । केही खेलाडी घाइते भएको बताउँदै उनले सेमिफाइनलमा रिकभर गर्ने चुनौती आएको उल्लेख गरे ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले नेशनल लिगका कारण सबै खेलाडी उपस्थित नहुँदा सफलता हात नपारेको बताए । उनले यही प्रदर्शनलाई पनि सन्तोषजनक बताए ।