विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छिन् ।

प्रदेश १ मा कोरोना सङ्क्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताइन् ।

आज बिहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालका लागि १८० बेड तयारी अवस्थामा रहेको बताइन् ।

मन्त्री राईले सीमा नाकामा आवश्यक सतर्कता अपनाउनका लागि निर्देशन दिइएको समेत बताइन् । कोभिड अस्पतालमा उपचारको प्रबन्ध गर्न पनि निर्देशन दिए । मन्त्री राईले भनिन् ,‘कतैबाट गुनासो आउनु भएन ।’

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले सङ्क्रमणको दर बढेको बताए । चैत २० पछिको १० दिनको अवधिको सङ्क्रमण दर बढेको उनले बताए ।

सचिव कार्कीले भने,‘ देशव्यापीमा वृद्धि भएको दरकै अनुपातमा सङ्क्रमण बढेको छ ।’ कोरोनाको पुनरावृत्ति भएको देखिएको उनले बताए ।

सङ्क्रमण दर बढेसँगै अस्पताल, आइसोलेसन केन्द्रहरूलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए ।

आवश्यक्ता अनुसार आइसोलेसन कोभिडको व्यवस्थापनका लागि चाँडै प्रदेश स्तरीय सीसीएमसीको बैठक तयारी भइरहेको उनले बताए ।