धरान : तेह्रथुमको छथर गाउँपालिका २ खैरेनी स्थित नेवार गाउँमा भीषण आगलागी हुँदा १० घर ९ वटा ग्वाली जलेर नष्ट भएको छ ।

आज दिउसो तेलिया खोलाको काङसुवा देखि मास्तिर अचानक अचम्बरे सामुदायिक बनबाट सुरु भएको डढेलो गाउँमा पस्दा १० वटा घर र ९ वटा खोल्मा ग्वाली जलेको छथर गाउँपालिका २ नम्बर वडाध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए ।

डढेलो खैरेनीको नेवार गाउँमा पस्दा टोखिता श्रेष्ठको घर र खोल्मा, लोकबहादुर श्रेष्ठको घर र खोल्मा जलेर नष्ट भएको छ । यसै गरी रमेशलाल श्रेष्ठको २ वटा घर र खोल्मा, रूपनारायण श्रेष्ठको घर र खोल्मा, रामबहादुर श्रेष्ठको घर र खोल्मा, रुद्रबहादुर श्रेष्ठको खोल्मा, रितबहादुर श्रेष्ठको घर र खोल्मा, मनकुमारी लिम्बुको घर र खोल्मा जलेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

डढेलो गाउँमा पसेपछि हावा हुरी बढी चलेकोले जङ्गलबाट गाउँमा आगो पुगेको हो । गाउँमा पुरै आगलागी भएपछि लालीगुराँस नगरपालिकाको दमकल, स्थानीयवासी, प्रहरीले आगो नियन्त्रणको प्रयास गरेको स्थानीय सञ्चारकर्मी प्रकाश नाम्सामीले बताए ।

Aglagi-1 11

आगो अहिले पनि नियन्त्रणमा आइसकेको छैन । गाउँमा भएको आगलागी नियन्त्रण गर्नका लागि ट्र्याक्टरमा ड्रममा पानी ल्याएर आगो निभाउने क्रम अहिले पनि जारी रहेको वडाध्यक्ष कार्कीले बताए । आगलागीबाट दुई वटा घरमा मानिस बसेकोमा क्षति पुगेको छ भने बाकीमा मान्छे बसेका थिएनन् ।

बढी हावाहुरी र सुख्खा ठाउँ भएकोले आगलागीले ठुलो क्षति पुर्‍याएको बताइएको छ । आगलागीबाट के कति क्षति पुग्यो भन्ने बारेमा भने पूर्ण विवरण आइसकेको छैन । बस्ती देखि नजिकैको बनमा अझै डढेलो नियन्त्रणमा आइसकेको छैन ।