इटहरी : पूर्वपश्चिम राजमार्ग आज दिनभर तनावग्रस्त बन्यो । इलाका प्रहरी कार्यालय इटहरी अगाडी टायर बालेर नारा जुलुस भयो । आइतबार दिउँसो २ बजे टिप्परको ठक्कर बाट मृत्यु भएका पूर्णबहादुर गुरुङका आफन्तजनले विशेष राहतको माग गर्दै आन्दोलन गरेका हुन् ।

राज्यले तोकेको क्षतिपूर्ति अपुग भएको भन्दै थप राहतको माग सहित प्रदर्शनमा आएका हुन्। प्रदर्शनको क्रममा ढुङ्गा मुढा गर्ने देखी टायर बाल्ने सम्मका गतिविधि गरेका थिए । उनीहरूको आन्दोलनको कारण ४ घण्टासम्म पूर्वपश्चिम राजमार्ग र कोसी राजमार्ग बन्द भयो भने हजारौँ सवारी साधन बिच बाटो मै रोकिएका थिए ।

आइतबार इटहरी १ गंगामार्गमा बाटो कट्दै गरेका स्थानीय गुरुङको मृत्यु भएको थियो । इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८६६५ नम्बरको टिप्परको ठक्करबाट स्थानीय गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । ट्रिपर चालक गुरुङलाई चालकले ब्याक गरेर किचेर मारेको भन्दै मृतकका आफन्तहरूले आइतबार पनि ४ घण्टा सडक बन्द गराएका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार राज्यबाट पाउने भन्दा बढी राहतको लागी आफूहरूले केही गर्न नसक्ने बताए । थप राहतको लागी उनीहरू बिच सहमति हुनुपर्ने उनको भनाई छ । विशेष राहतको कुरा आफूहरूले नबुझेकाले केही भन्न नसकिने उनको भनाई छ ।