इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का स्थानीयलाई इप्पील्याण्ड वाटर पार्कले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा छुट दिने भएको छ । गत महिनाबाट सञ्चालनमा आएको इप्पील्याण्डले मनोरञ्जन शुल्कमा छुट दिने घोषणा गरेको हो ।

सोमबार वडा नम्बर ३ को कार्यालयमा भएको वडा कार्यालय, वाटर पार्कका सञ्चालक र स्थानीयवासी बिचको  अन्तर्क्रियामा पार्कका सञ्चालक भिमबहादुर पौडेलले स्थानीयवासीले छुट दिने घोषणा गरेका हुन ।

नयाँबर्षबाट छुट तथा अफरहरू थप गर्दै जाने उनले बताए । स्थानीय र वडा कार्यालयले ल्याउने अन्य कार्यक्रममा पनि सहयोग गर्न सकिने उनले जानकारी दिए ।

वाटर पार्क भित्रका विभिन्न खेल तथा मनोरञ्जन, अवलोकनका लागि लिइने प्रवेश शुल्कमा छुट गर्दै कर सहित ५ सय रुपैया लिने निर्णय गरिएको हो । अब मनोरञ्जनकालागि वडा नम्बर ३ का स्थानीयले प्रतिव्यक्ति ५ सय रुपैँया मात्र तिर्नुपर्ने भएको छ । तर पार्क भित्रका कतिपय खेलका लागिभने थप शुल्क तिर्नुपर्ने गरी समझदारी भएको छ ।

यस अघि पार्कमा प्रवेश गर्दा ७५० रुपैयाँ शुल्क तिर्नुपर्ने अवस्था थियो । पार्कले रोजगारीसँगै व्यापार व्यवसायका लागि नयाँ अवसर प्राप्त भएको बताउँदै पौडेलले त्यो अवसरलाई भरपुर उपयोग गर्न आग्रह पनि गरे । 

वडाध्यक्ष बालकृष्ण विष्टले पार्कको सञ्चालनले वडाको गरिमा बढाएको बताए । साथै पार्कमा धेरै स्थानीयले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएको उनको भनाई छ । पार्कले स्थानियवासीकालागि छुटको व्यवस्था राम्रो भएको भन्दै वडाको विकासमापनि सहयोगी बन्न आग्रह गरे ।

करिव ३० करोडको लगानीमा स्थापना भएको इप्पील्याण्ड फागुन महिनाबाट सञ्चालनमा आएको हो । करिव ६ विगाहा क्षेत्रफलमा फैलिएको वाटर पार्कमा एकै पटक ५ हजार जनाले अवलोकन गर्न सक्नेछन् ।

इप्पील्याण्डमा वाटर स्लाईड, जिपलाईन, रक क्याम्बीङ, जुरासिकपार्क लगायतका विभिन्न खेल तथा मनोरञ्जनका साधनहरु सुन्न, देख्न र खेल्ने पाईन्छ ।