धरान : खोटाङ र सङ्खुवासभामा भएको आगलागीबाट लाखौँको क्षती भएको छ ।

हिजो दिउसो २ बजे संखुवासभा धर्मदेवी ६ हुङबुङका नर बहादुर थायुम राईको घरबाट सल्केको आगोले सलमान जिमीको घर र इन्द्र बहादुर जिमीको कटेरो समेतमा आगलागी भएको थियो । उक्त आगोबाट ३ वटा घर तथा घर भित्र रहेका सरसामानहरू, बाख्रा ८ वटा, सुँगुर १ गरी अन्दाजी ३५ लाख २९ हजार बराबरको क्षेत्री भएको छ ।

आगलागीको कारण भने खुल्न सकेको छैन । सो आगो प्रहरी र स्थानीयको सहयोगमा बेलुका ६ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

त्यस्तै आज बिहान साढे ४ बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ मा रहेको हर्क राज राईले सञ्चालन गरेको गणेश फर्निचर उद्योगमा विद्युतको तार सर्ट भई आगलागी हुँदा फर्निचरका सामानहरू, जेनरेटर सहित अन्य सरसामान गरी अन्दाजी ५० लाख ८६ हजार बराबरको क्षेत्री भएको छ ।

सो आगो दमकल, प्रहरी, सेना र स्थानीयको सहयोगमा बिहान साढे ५ बजे नियन्त्रणमा आएको छ भने गत राती सभा २ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ ज्यामिरेका कुलमान चुहानको घर र गोठ ग्वालीमा आगलागी हुँदा घर, गोठ सहित चौपायामा भेडा–२, बाख्रा ८ वटा, खसी –४ वटा, पाठा–६ वटा, पाठी–२ वटा कुखुरा –११ वटा जली मरेका छन् । आगो प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।