इटहरी : इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखीका विद्यार्थी न्यायको माग राखेर शिक्षा महाशाखा पुगेका छन् ।

लकडाउनको समयको समेत पूर्ण शुल्क लिएको भन्दै इटहरी उपमहानगरपालिका स्थित शिक्षा महाशाखामा निवेदन दिन पुगेका हुन्। अनलाइन तथा भौतिक कुनै पनि कक्षा सञ्चालन नभएको तर क्याम्पसले १२ महिनाकै शुल्क लिने भएपछि आफूहरू अन्यायमा परेको उनीहरू बताउँछन् ।

उपमहानगरपालिकाका प्रमुख तथा शिक्षा समिति संयोजकलाई सम्बोधन गरेको निवेदन सहित उनीहरू आज शिक्षा महाशाखा पुगेका हुन् ।

लकडाउनको ६ महिनाको शुल्क दिए मात्र फारम भर्न दिने भनी क्याम्पसले त्रास देखाएको विद्यार्थीको आरोप छ । “लकडाउनका बेलाको शुल्क लिनुपर्ने कारण केहो ? कक्षा सञ्चालन नभएको बेलाको शुल्क के कति कारण ले लिइएको हो ?,” निवेदनमा भनिएको छ ।

क्याम्पसले लिएको शुल्क नियम सङ्गत हो हैन छानबिन गरी न्याय पाउँ भन्ने उनीहरूको माग छ । कक्षा १२ का विद्यार्थीले दिएको निवेदन उपर छलफल गरिने शिक्षा महाशाखाले जनाएको छ। भर्खरै मात्र निवेदन परेकोले छलफल पछि निष्कर्ष निकालिने महाशाखा प्रमुख सूर्य सुवेदीले बताए ।

उता क्याम्पस प्रमुख गीता अधिकारीका अनुसार यस अघि नै २ महिनाको शुल्क मिनाहा गर्ने निर्णय भइसकेको छ । माइन्युटमै निर्णय गरेर शुल्क मिनाहा गर्ने भनिएको उनको भनाई छ। फारम भरेको पैसा फिर्ता गर्ने निर्णय भएको समेत उनले बताइन् ।

यस अघि इटहरीका निजी कलेजका विद्यार्थीले शुल्क मिनाहाको विषयमा १८ दिनसम्म आन्दोलन गरेका थिए । अन्त्यमा २ महिनाको शुल्क मिनाहा गर्ने निर्णय भएपछि आन्दोलन रोकिएको थियो ।

Janta-Campus-Nibedan