आज विक्रम सम्वत २०७८ को पहिलो दिन । नव वर्ष २०७८ साल आजबाट सुरु भएको छ।

आजबाट सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्दछ । त्यसैले यस संक्रान्तिलाई मेष अर्थात् वैशाख सङ्क्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउदैछन् ।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक आपसमा व्यक्त गर्दै मिष्टान्न भोजन खाएर भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रूपमा मनाइने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ ।

आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज पर्यटकीय क्षेत्रहरूमा विशेष चहल पहल छ । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, विभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरूको प्रचलन छ ।

वैदिक सनातन धर्मअनुसार ६० संवत्सर छन्। यी संवत्सर आदि अनादि कालदेखि घुम्दै आएका छन्। षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो। आज देखि ४८ औ संवत्सर अर्थात् प्रमादी सकिएर ४९ औ "राक्षस" नामको संवत्सर सुरु भएको छ ।

यस संवत्सरमा मानिसहरू क्रोधी भई राक्षसी प्रवृत्ति हाबी हुने फल रहेको छ। प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने गर्दछ। यसै गरी आजदेखि कलियुगको आयु पनि पाँच हजार एक सय बाइस वर्ष पुगेको छ।