धरान : गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले आफ्नो वार्षिक उत्सवको अवसरमा गोर्खा र गोर्खा परिवार सँग सम्बन्धित क्षेत्रमा कमल चलाउने तिन जना पत्रकारलाई सम्मान गरेको छ ।

सेन्टरले घोषणा गरेको वीर गोर्खा पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार हर्ष सुब्बा र मनिता चाम्लिङ सम्मानित भएका हुन्।

सुब्बा र चाम्लिङलाई जनही नगद २५ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो भने नवप्रतिभा पत्रकारिता पुरस्कार पत्रकार संजिता धमलालाई प्रदान गरिएको छ । उनलाई पनि नगद २० हजार, सम्मान पत्र र दोसल्ला सहित पुरस्कृत गरिएको हो ।

धरान-१८ स्थित ट्रेनिङ सेन्टरको पहिलो वार्षिक उत्सवको अवसर पारेर नेपाल प्रेस युनियन धरान सँगको सहकार्यमा सम्मान पुरस्कार प्रदान गरेको हो ।

गोर्खाको इतिहास, वर्तमान बारे, देश निर्माणमा गोर्खाहरूले पुर्‍याएको योगदान र गोर्खाहरूको सामाजिक क्षेत्रमा सक्रियतालाई उजागर गर्न कलम चलाउने पत्रकारहरूलाई सम्मान स्वरूप पुरस्कार दिइएको सेन्टरका सञ्चालक प्रेम मुकारुङ राईले जानकारी दिए।

धरान उपमहानगरपालिकाका मेयर तिलक तिलक राईले र नेपाल पत्रकार महासङ्घका अध्यक्ष जनकॠषी राईले सम्मानित हुनेलाई खँदा लगाएर सम्मान पत्र र नगद हस्तान्तरण गरेका थिए।

सेन्टरले आउने वर्षमा पनि दुवै पुरस्कारलाई निरन्तरता दिने र साहित्य विद्यामा पनि पुरस्कार थप गर्ने उनले बताए।

प्रमुख अतिथि मेयर राईले मन्तव्य राख्दै युवाहरू बिदेसिँदा देशलाई घाटा भए पनि साउदी अरबमा पचास डिग्री सेल्सियसको तापक्रममा अति नै कम तलबमा काम गर्नु भन्दा गोर्खा भर्ती उत्तम विकल्प रहेको तर्क गरे। उनले भने 'गोर्खा भर्तीमा लामो समय देखी भ्रमको खेती गरेर पैसा ठगी गर्ने मानिसहरूको उपस्थित छ तर, खुलेर देखा परेका छैनन्'

सञ्चालक राईले कार्यक्रममा मन्तव्य राख्दै भने 'गोर्खा भर्तीको नाममा गोप्य रूपमा (ओपन सेक्रेट) हुने गरेको दलाली र भ्रष्टाचारीको विरुद्ध मा हामीले चालेको कदमलाई सञ्चार माध्यमद्वारा गरिएको साथ र सहयोगबाट थप ऊर्जा मिलेको बताउँदै कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।