विराटनगर : विराटनगरमा जारी छैटौँ विराट गोल्डकपमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं फाइनलमा प्रवेश गरेको छ ।

सहिद मैदानमा बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई ३-२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै एपीएफले छैटौँ संस्करणको उपाधि जित्नको लागि सङ्कटा व्वाइज स्पोटिङ्ग क्लब काठमाण्डौं र भारतको पन्जाब पुलिस क्लबको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

जितकोलागि एफिएफका सनिश श्रेष्ठ, रबी थिङ्ग र मणि लामाले गोल गरेका थिए। खेलको सुरुवातमा दुवै टिम आक्रामक देखिए पनि पहिलो हाफको २६ औ मिनेटमा एपीएफका सनिश श्रेष्ठले गोल गरी टिमलाई अग्रता दिलाए। श्याम नेपालीले दिएको क्रस पासलाई सनिशले पेनाल्टी एरियामा गरेको वानटच गोलमा परिणत भयो ।

खेलको १५ औँ मिनेटमा विराटनगरका फ्लोरेन कौराको क्रस पासमा कप्तान दीपक राईले डिबक्स एरियादेखि गोल गर्ने सुन्दर अवसर खेर फाले । खेलको २७ औँ मिनेटमा २०७२ को विराट गोल्ड कपको उपविजेता एपीएफका खेलाडी श्याम नेपालीले गरेको उत्कृष्ट प्रहार विराटनगरका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरिदिए ।

पहिलो गोल खाएपछि दबाबमा परेको विराटनगरले पहिलो हाफमा खेल बरावारिमा ल्याउन निकै सङ्घर्ष गर्‍यो । तर सफल हुन सकेन । पहिलो हाफमा १-० गोलले अग्रता लिएको एपीएफले दोस्रो हाफदेखि विराटनगर आक्रामक खेल्यो ।

खेलको ५३ औँ मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेपर समीरले डिबक्स एरिया नजिक बललाई होल्ड गरी गरेको प्रहार गोलमा परिणत भयो । समीरले गोल गरेसँगै खेल बरावारिमा ल्याए । विराटनगरले दोस्रो हाफपछि गोल गरी खेल बराबरी ल्याएको १४ मिनेट बित्न नपाउँदै एपीएफका रबी थिङ्गले ६७ मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए । श्याम नेपालीले निकालिएको क्रस पासलाई रविले जाली चुमाए ।

दोस्रो हाफपछि २–१ अग्रता कायम गरेको एपीएफले दोस्रो गोल गरेको दुई मिनेट बित्न नपाउँदै विराटनगरले ६९ औँ मिनेटमा गोल गरी खेल बरावारिमा ल्याए । विराटनगरका प्रकाश बुढाथोकीले पेनाल्टी एरियादेखि वान टच बललाई गोलमा परिणत गराउँदै खेल बरावारिमा ल्याएका हुन् ।

घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले खेलको ८० र ८३ औँ मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स एरियादेखि गरेको प्रहार बाहिरदा थप गोल गर्ने अवसर गुमायो ।

९० औँ मिनेटको निर्धारित समय सम्म २-२ गोलको खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्क्त समय थप गरिएको थियो । थप गरिएको अतिरिक्त समयको २७ औँ मिनेटमा एपीएफका मणि लामाले डिबक्स बाहिरदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमको जितको लागि सुनिश्चित भयो ।

विराटनगर पहिलो सेमिफाइनल खेलमा नै हार व्यहोरेपछि छैंठौं संस्करणको विराट गोल्ड कपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । दुवै टिम आक्रामक देखिए पनि डिफेन्स लाइनको कमजोरीमा विराटनगरले हार व्यहोरेको छ ।

खेलको म्यान अफ द म्याच एपीएफको मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।
बिहीबारको खेल आरा रारा गोल्ड कपका विजेता सङ्कटा ब्याइज स्पोटिङ्ग क्लब काठमाण्डौं र भारतको पन्जाब पुलिस क्लब बिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

सङ्कटाले क्यामरुनलाई १-० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि सङ्कटाले पोखरामा सम्पन्न आहा रारा गोल्डको फाइनलमा क्यामरुनलाई टाई ब्रेकरमा ४-२ गोलले हराउँदै उपाधि उचालेको थियो ।