इटहरी : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको नयाँ भेरीयन्ट देखा परेकोले संवेदनशील हुन आग्रह गरेको छ ।

पछिल्लो समयमा देखिएको कोरोना भाइरसबाट युवा तथा बालबालिका बढी प्रभावित भएको भन्दै सचेत हुन आग्रह गरेको हो । “मेरो स्वास्थ्य मेरो जिम्मेवारी”भनेर बुझी स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाईले अपिल गर्दै अति प्रभावित जिल्लाहरूमा बढी भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले १४ जिल्लालाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको सार्वजनिक गरेका हुन् । जसमा प्रदेश १ को मोरङ जिल्ला सहित काठमाण्डौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, दाङ, सुर्खेत, बारा र बागलुङ पनि अति प्रभावित जिल्लाको सुचीमा परेका छन् ।

त्यसै बमोजिम मन्त्रालयले विद्यालय, रात्रि व्यवसायहरू, ७ बजेपछि सबै रेष्टुरेष्ट तथा क्लबहरू, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरू, सभा, सम्मेलन, बैठक तथा भेलाहरू, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानहरूमा सहभागी नभइदिन पनि अपिल गरेको छ ।

अब देखी अस्पतालहरूले अनिवार्य फिवर क्लिनिक सञ्चालन गर्न तथा कोभिड १९ को नमुना सङ्कलन, परीक्षणको व्यवस्था गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

अघिल्लो वर्ष पनि कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । यस पटक पनि सरकारले लकडाउनको तयारी थालेको देखिन्छ ।

Helth-notice