धरान : धरान होलिडेज प्रालीले आउने वैशाख ५ गतेबाट धरानको स्टुडिएम देखि २ घण्टामा ताप्लेजुङको पाथीभरा सम्मको हेलिकप्टर मार्फत यात्रा गराउने भएको छ ।

प्रालिले बिहीबार पत्रकार सम्मेलन गर्दै विगत वर्षमा झैँ होलिडेजले प्रदेश नं १ का प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभरा मन्दिर, खोटाङको हलेसी महादेवको मन्दिर, सङ्खुवासभाको गुफापोखरी जान चाहनेहरूलाई हेलिकोप्टर मार्फत लैजान सकिने जनाएको छ ।

हवाई यात्रामा पाथिभारा दर्शन गरेको शुल्क प्रतिव्यक्ति २९ हजार ९ सय ९९ रुपैयाँ लाग्ने प्रालीले जनाएको छ । हवाई यात्रा गर्न ५ जनाको समूह हुनु पर्नेछ । पाथीभरा २५ मिनेटमा पुग्ने र ४५ मिनेट यात्रुहरूलाई होल्ड गरी दर्शनको लागि समय दिइने छ । त्यस पछि पुनः धरान ल्याइने छ ।

यसरी १ दिनमा ३ पटक सम्म हवाई यात्राको सुविधा रहेको छ । अन्य क्षेत्रहरूमा भ्रमण वा दुरीको हिसाबले शुल्क यस्तै, दुर्गम भेगका बिरामीलाई उपचारको लागि उद्धार गर्नुपरेमा पनि हवाई एम्बुलेन्सको रूपमा सेवा दिइने व्यवस्था रहेको प्रबन्ध निर्देशक अमृत मानन्धरले जानकारी दिए ।

७० वर्ष पुगेका ज्येष्ठ नागरिक र अशक्तहरूलाई १० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ । धरानका इच्छुक पत्रकारहरूलाई पनि पाथीभरा दर्शनको लागि २५ प्रतिशत छुट दिइने प्रालिले घोषणा गरेको छ । यो छुट पनि किस्ताबन्दीमा नभै नगदीमा मात्र उपलब्ध हुनेछ तर यो छुट सुविधा किस्ताबन्दीमा भने उपलब्ध नहुने प्रालीले जनाएको छ । यो सुविधाले विपन्न परिवार, अशक्त, ज्येष्ठ नागरिकहरूलाई पनि पाथीभरा दर्शनमा सहज बनाउने प्रालीको दाबी छ ।

धरान, इटहरी र विराटनगरका विभिन्न सहकारी संस्थामार्फत सरल किस्ताबन्दीमा समेत विना ब्याज हेलिकप्टरमा पाथीभरा दर्शन गर्ने व्यवस्था गरिएको जानकारी दिएको छ । सहकारीमार्फत विना ब्याजमा दिनको १ सय र मासिक २५ सय किस्तामा पाथीभरा दर्शन गर्न सकिने प्रालिका अध्यक्ष कुन्दन श्रेष्ठले जानकारी दिए । उनले भने यो विना ब्याजको सुविधा सहकारीका सेयर सदस्यहरूका लागी मात्र लागु गरिएको हो ।

होलिडेजले १ करोडको लगानीमा यो हवाई यात्रा सञ्चालन गर्न लागेको हो । जसमा अध्यक्ष कुन्दन श्रेष्ठ , प्रबन्ध निर्देशक अमृत मानन्धर र फाइननसियल तर्फ अजय खनाल र जेनेरल म्यानेजर त्री रत्न रहेका छन् ।

‘हेलीमा जाऔँ सरर........पारिभरा दर्शन कति छ रहर........’ भन्ने नाराका साथ होलिडेजले वैशाख १२ गते सम्मका लागी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सँगको समन्वयनमा यो हवाई यात्रा गरेको हो । भने पूर्व क्षेत्रमा राम्रो अनुभव भएका क्याप्टेन शाश्वतलाई हेलिकप्टरको पाइलटको जिम्मा लिएको छ ।