धरान : 'मेरो गणना मेरो सहभागिता' भन्ने मूल नाराका साथ आगामी जेठ २५ देखि असार ८ सम्म हुन गइरहेको नेपालको १२औँ राष्ट्रिय जनगणना २०७८ र देशको पछिल्लो राजनीतिक अवस्था सम्बन्धी नेपाल तामाङ घेदुङले अन्तरक्रिया गरेको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वक्ताहरूले वास्तविक तथ्याङ्क निर्माणमा प्रत्येक नागरिकको पनि महत्त्वपूर्ण भूमिका भएकाले जिम्मेवार भूमिका निर्वाह गर्न समुदायका हरेकले आफू र आफ्नो परिवारका सदस्यहरूलाई सचेत गराउनुपर्ने र घेदुङले सचेतना तथा प्रशिक्षण कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले हरेक दश दश वर्षमा गरिने राष्ट्रिय जनगणनाको तथ्याङ्कको आधारमा राज्यको सेवा, सुविधा, श्रोत र साधन वितरण हुने भएकाले जातिमा तामाङ, भाषामा तामाङ र धर्ममा बौद्ध लेखाउने जस्ता महत्त्वपूर्ण विषयहरूमा विशेष ध्यान दिनुपर्ने र यसका लागि जनगणना अवधिभर गणकसंगसंगै परिचालित हुनुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी वक्ताहरूले पछिल्लो समय देशको राजनीति अत्यन्त तरल भएको र नयाँ सरकार निर्माण तथा विद्यमान सरकार टिकाउन दलहरू आपसी एकता र सहकार्यका लागि कसरत गरिरहेको र संविधान संशोधनको विषय समेत उठ्न थालेकाले घेदुङले उठान गर्दै आएको संविधान संशोधन सम्बन्धी मुद्दालाई दल र संसद्सम्म पुर्‍याउन पहल गर्नुपर्ने बत्ताएका छन् ।

उनीहरूले विद्यमान ओली नेतृत्वको सरकारले संविधानको मर्म र भावना विपरीत काम गरेकाले राजनीतिक तरलता र अस्थिरता बढेको तथा सुशासन र विकास हुन नसकेको समेत बताएका छन् ।

नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले, केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, १ नं. प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ, निवर्तमान प्रदेश अध्यक्ष मित्रसेन योञ्जन, जिल्ला सचिव मङ्गलसिंह मोक्तान, जिल्ला सदस्य हस्त पाख्रिन, तामाङ बुद्धिजीवी समूह धरानका सचिव इन्दु योञ्जन, पाख्रिन समाजका सुनसरी अध्यक्ष हर्क पाख्रिन, गोले वंश उत्थान समाजका सुनसरी अध्यक्ष तारा लामा, महिला घेदुङ धरानका अध्यक्ष गङ्गा तामाङ, घिसिङ समाज सुनसरीका अध्यक्ष जयदेव घिसिङ, नेपाल तामाङ सङ्घ सुनसरीका अध्यक्ष ढकेन्द्र तामाङ लगायतले विचार राखेका थिए ।