विराटनगर : आहा रारा गोल्डकपको च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्डकपको  फाइनलमा भारतको पन्जाब पुलिस क्लब प्रवेश गरेको छ।

विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता पनि रहेको सङ्कटालाई १-० गोलले निराश बनाउँदै पन्जाब फाइनलमा पुगेको हो। 

पन्जाबले जितसँगै छैटौँ संस्करणको विराट गोल्डकपको उपाधिको लागि शनिवार विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

पहिलो पटक गोल्डकपमा भाग लिएको पाहुना टोली पन्जाबले खेलको ७५ औँ मिनेटमा परमजीत सिंहले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पुर्‍याएको हो। हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई परमजीतले पेनाल्टी एरिया नजिकदेखि गरेको प्रहार गोलमा परिणत भयो। 

दुवै टिम आक्रामक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबरी खेले। खेलको ७ औँ मिनेटमा सङ्कटाका तीर्थ बस्नेतले बललाई एक्लै अगाडी बढाएर पेनाल्टी एरिया नजिकदेखि गरेको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । खेलको १० औँ मिनेटमा पन्जाबका हरेसदेव सिंहले बल टच नगरि प्रहार गर्दा गोल पोष्ट माथिबाट बाहिरियो।  २०७० को विराट गोल्कडपको विजेता सङ्कटाले यस पटक पनि उपाधि दाबेदार पेस गर्ने टोलीमध्ये एक थियो । तर पन्जाब उसको सपनाको बाधक बन्यो । सुरुदेखि नै दुवै टिम आक्रमक देखि पनि रक्षापंत्तिको कमजोरीमा सङ्कटा पछि पर्यो ।

खेलको १५ औँ मिनेटमा गणेश हमालले निकालिएको पासलाई विदेशी खेलाडी ओडेजले डिबक्स भित्रदेखि गरेको हेड पन्जाबका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए । १७ औँ मिनेटमा फेरी सङ्कटाका तीर्थ बस्नेतले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो । खेलको ३० औँ मिनेटमा पन्जाबका राजविर सिंहको वान भर्सेस वानको प्रहार सङ्कटाको गोल रक्षक राजाबावा थापाले उत्कृष्ट बचाउँदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । पहिलो हाफमा सङ्कटाका खेलाडीले आधा दर्जन उत्कृष्ट प्रहार गोलमा परिणत हुन नसक्दा सेमिफाइनलदेखि बाहिरिनु¥यो । 

यसअघि सङ्कटाले आरा रारा गोल्डकपमा क्यामरुनलाई सेमिफाइनलमा ४-२ गोलले हराउँदै उपाधि जितेको थियो । यो सँगै  सङ्कटाले दोस्रो पटक विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो ।

दोस्रो हाफपछि सङ्कटाले  खेल बराबरीमा ल्याउनआक्रामक खेल खेले पनि सफल हुन सकेन । खेलको ६६, ७३ र ८९ औँ मिनेटमा पनि सङ्कटाले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा सेमिफाइनलदेखि बाहिर बाध्य भयो । 

खेलको म्यान अफ द म्याच पन्जाबको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । 

झगडा गरेपछि दुई खेलाडीलाई रेड कार्ड

खेल सकिएपछि सङ्कटा र पन्जाबका खेलाडीबिच झगडा भएपछि दुई जना खेलाडीले रेड कार्ड पाएका छन् । पन्जाबका कप्तान जगदीप सिंह र सङ्कटाका  सहिद स्माटले रेड कार्ड पाएका हुन् ।

रेफ्री श्याम दनुवारले खेल सकिएको घोषण गरेसँगै सङ्कटा र पन्जाबका खेलाडी बिच झगडा भएको थियो । झगडा गर्ने मध्येका दुई जना खेलाडीलाई रेफ्री दनुवारले रेड कार्ड दिएका छन् । रेड कार्ड पाएसँगै पन्जाबका कप्तान जगदीपले फाइलनमा खेल्न नपाउने भएका छन् ।