धरान : धरान १२ स्वस्तिका चौकस्थित खानेपानीको रिजर्भ ट्याङ्कीको बिजुलीको तार र मेशिनरी संरचनाहरूमा गए राति आएको हावाहुरीले क्षति पुर्‍याएको छ ।

गए राति आएको हावाहुरीले रिजर्भ ट्याङ्कीको बिजुलीको तार र कन्ट्रोल प्यानलमा क्षति पुर्‍याएको खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार मुख्य विधुत सप्लाई हुने कन्ट्रोल प्यानलमा क्षति पुर्‍याएको हो । कन्ट्रोल प्यानल बिग्रिएको कारण आज (शुक्रवार) धरानको १२, ९, १०, ११, १८ र २ नं. वडामा खानेपानी वितरण नहुने भएको छ ।

आज स्वस्तिका चौकदेखि पूर्व चतरा लाइन, भानुचौक, बगैँचा लाइन, आचार्य लाइन, पुतली लाइन, कलेज रोड लगायतका स्थानहरूमा पानी वितरण गर्ने पालो रहेको थियो । बोर्डका निर्देशक पोख्रेलले गए राति ११ बजेदेखि बिग्रिएको जानकारी दिँदै राति देखि नै प्राविधिक कर्मचारीले बनाउने प्रयास गरिरहेको बताए । ‘बिग्रिएको संरचना बन्ने बित्तिकै खानेपानी वितरण गर्छौ, अहिले कर्मचारीहरू खटिरहेका छन् ।’ उनले भने ।

राति नै रिजर्भ ट्याङ्कीमा क्षति पुर्‍याएको थाहा पाएपछि विधुत प्राधिकरणलाई खबर गरिएको थियो । साबिक खानेपानी संस्थानको संरचनाहरू जीर्ण रहेको कारण एकपछि अर्को बिग्रिँदै आएको छ ।